युरोकप: फराकिलो जीत निकाल्दै स्पेन पुग्यो नकआउट चरणमा - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

युरोकप: फराकिलो जीत निकाल्दै स्पेन पुग्यो नकआउट चरणमा



काठमाडौं- जारी युरोकप फुटबलअन्तर्गत बुधबार मध्यरातमा सम्पन्न खेलमा स्पेनले शानदार जीत हासिल गरेको छ । स्पेनले स्लोभाकियालाई ५-० गोलअन्तरले हराएको हो ।

स्पेनको जीतमा एमरिक लापोर्ते, पाब्लो सराबेस र फेरान टोरेसले १-१ गोल गरेका थिए भने बाँकी दुई गोल उपहार पाएको थियो ।

खेलको ३०औं मिनेटमा विपक्षी गोलरक्षक मार्टिन डुब्राभकाले बल रोक्‍ने क्रममा आफ्नै पोस्टमा पञ्‍च गर्न पुगेका थिए र स्पेनले अग्रता लिएको थियो । त्यसअघि उनैले अल्भारो मोराटाको पेनाल्टी प्रहार बचाएका थिए ।

इन्जुरी समयमा लापोर्तेले गोल गरेपछि स्पेनको अग्रता दोब्बर बनेको थियो । दोस्रो हाफको ५६औं मिनेटमा साराबियाले गोल गरेपछि स्पेन ३-० ले अघि बढ्यो ।

६७औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जीततर्फ अग्रसर गराए । ७१औं मिनेटमा जुराज कुकाले आत्मघाती गोल गरेपछि स्पेनको ५ ० को जीत पक्का भयो ।

जीतसँगै ३ खेलबाट ५ अंक भएको स्पेन समूह इ को दोस्रो स्थानमा रहँदै नकआउटमा प्रवेश गरेको छ भने स्लोभाकिया बाहिरिएको छ ।