यसरी समातिए हेमन्तप्रकाश ओली - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

यसरी समातिए हेमन्तप्रकाश ओली



काठमाडौ : महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रवार राति गरेको सर्च अभियानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ परेका छन्।

एनसेल कार्यालयमा भएको विस्फोटको जिम्मेवारी लिँदै मिडियामा सार्वजनिक भएका ओलीलाई प्रहरीले खोजी रहेको थियो। यसअघि पनि काभ्रेमा समात्न प्रयास गर्दा उनी उम्किएका थिए। उनीसहित ८ जनालाई प्रहरीले मध्यरात नियन्त्रणमा लिएको हो।

‘हामीले शंका लागेको घरमा सर्च गर्ने क्रममा उनीहरुलाई समात्न सकेका हौं,’ एक प्रहरी अधिकृतले पहिलोपोस्टलाई भने, ‘पक्राउ गरे पनि अहिलेसम्म काभ्रेमै मुद्दा चलाउनेगरी राख्ने या काठमाडौं लैजाने तय भइसकेको छैन।’

श्रृंखलावद्ध विस्फोटका घटनामा संलग्न रहँदै आएपछि विप्लव नेतृत्वको पार्टीलाई सरकारले प्रतिवन्धित गर्ने निर्णय गरेको थियो। निर्णयको नेकपामा प्रतिनिधित्व गर्ने पूर्न माओवादी समूहले विरोध गर्दै आएका छन्।

पक्राउ परेका ओली नेकपाको मध्य कमाण्ड इन्चार्जका रुपमा सक्रिय थिए। एक जनाको ज्यान जानेगरी भएको नख्खुको विस्फोटपछि ओलीको प्रहरीले खोजी व्यापक रुपमा गरेको थियो। नेकपा समूहको तेस्रो तहका नेतासमेत हुन् ओली।