'रेड लाइट'को हल्लापछि पोखरामा बन्दैछ 'इन्जोय जोन' - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

‘रेड लाइट’को हल्लापछि पोखरामा बन्दैछ ‘इन्जोय जोन’



पोखरा । पोखरामा ‘ईन्जोय जोन’ बन्ने भएको छ । रेड लाइट एरिया बनाउने बहस भएको एक वर्षपछी पर्यटन पर्वर्धन गर्ने उद्देश्यले ‘ईन्जोय जोन’ बनाउन लागिएको बताइएको छ ।

०७५ को असोजतिर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बोलीले एउटा बहसको सिर्जना गर्‍यो । मुख्यमन्त्री गुरुङले नै बहस हुनुपर्नेमा जोड दिएका थिए । अवैध रुपमा यौन व्यवसायले पोखरालाई बदनाम गरिरहेको र । यसलाई व्यवस्थित गर्नको लागि रेडलाइट एरिया तोक्ने र व्यवस्थापन गर्न बहस आवश्यक भएको उनले बताएका थिए ।

तर, त्यतिबेला बहस आवश्यक छ भनेका मुख्यमन्त्रीलाई प्रदेशदेखि संघीय संसदका महिला सांसदहरुले विरोध गरे, राजीनामा पनि माग्न भ्याए । विस्तारै यो कुरा यतिकै सेलायो । तर, यही सातादेखि ईन्जोय जोनको नाममा मुख्यमन्त्रीले त्यतिबेला गरेको बहसको चर्चा चुलिएको छ । ‘ईन्जोय जोन’ बनाउने र यसले पर्यटनको एउटा उत्पादन थप्ने उद्देश्‍यले यसलाई पर्यटन मन्त्रालयले योजनाकै रुपमा अगाडि सारेको छ ।

प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले ‘रेडलाइट एरिया’ नभई ‘ईन्जोय जोन’ बनाउन लागिएको बताए । लम्सालका अनुसार २४ घण्टा नै खुल्ने एउटा निश्चित क्षेत्रको व्यवस्थापन गरी त्यसलाई ‘ईन्जोय जोन’ को रुपमा व्यवस्थापन गरिनेछ ।

“विश्वमा नै पर्यटकीय क्षेत्रमा २४ सैं घण्टा खुल्ने केही निश्चित ठाउँहरु तोकिएको हुन्छ, हामीले पनि त्यही गर्न लागेका हौँ, हाम्रो पर्यटकीय क्षेत्र पोखरा पनि १२ बजे बन्द हुन्छ, फेवा किनारमा प्रहरीले ९ बजेपछि जान दिँदैन्”, उनले थपे, “२४ घण्टा नै खोल्ने र मनोरञ्जन लिन पाउनेगरी सरकारले यो योजना ल्याएको हो, हामीले छिट्टै डीपीआरको प्रक्रिया अगाडि बढाउँदैछौँ ।” मुख्यमन्त्रीले बताएका छन् ।

उक्त क्षेत्रमा कानूनले वर्जित गरे बाहेकका सबै सेवासुविधा उपलब्ध हुनेछन् । ‘के-के सुविधा पाइन्छ भन्नेमा जानुभन्दा पनि कानूनले दिएका सबै कुरा उपलब्ध हुनेछन्”, उनले भने, “मान्छेले कसरी मनोरञ्जन लिन चाहान्छ, ती सुविधा त्यहाँ उपलब्ध हुन्छन् ।”