राजनीतिमा प्रचण्ड युगको 'अन्त्य' ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राजनीतिमा प्रचण्ड युगको ‘अन्त्य’ !



प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने क्रममा आफ्नै पार्टीका नेताहरूको साथ नपाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक घेराबन्दीमा फँसेका छन् । सत्ता गठबन्धन टुट्ने र एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः सत्तामा हाबी हुने देखिएपछि ‘व्याख्यात्मक घोषणा’को आवरणमा एमसीसी अनुमोदन गर्न सहयोग गरेका थिए ।

यसअघि एमसीसी कुनै पनि हालतमा पास गर्न सकिदैन भन्ने मान्यता राख्ने प्रचण्डले गत पुसको दोस्रो साता सम्पन्न भएको आठौँ राष्ट्रिय महाधिवेशनबाट एमसीसी कुनै पनि हालतमा पास हुन नसक्ने भन्दै दस्तावेज पास गराएका थिए । आफ्नै पार्टीको नीति र सिद्धान्तविपरित प्रचण्ड एमसीसीको पक्षमा उभिएपछि पार्टीभित्र नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि लगायतका पूर्व एकताकेन्द्रका नेताहरू झस्किएका हुन् ।

एमसीसी संसदबाट अनुमोदन भइसकेपछि प्रचण्डले पत्रकारहरूसँग भेटघाट गर्दै श्रेष्ठ लगायतका नेताहरूले पार्टी छोड्न चाहे गए हुन्छ भन्ने आशयको वक्तव्य दिएका थिए । त्यसयता प्रचण्ड र श्रेष्ठबीच पटक-पटक भेट भएको भएपनि सहमति जुट्न सकिरहेको छैन ।

पार्टीभित्र आफूविरुद्धको मत बढ्दै गएपछि प्रचण्डले जारी केन्द्रीय कमिटीको बैठक पनि पटक-पटक स्थगित गराउँदै आएका थिए । सोमवार बसेको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे छलफल भएको छैन । स्थानीय चुनावको तयारी गर्नुपर्ने भन्दै चुनावपछि एमसीसीबारे छलफल गर्ने प्रस्ताव प्रचण्डले राखेका थिए ।

आजको बैठकले पदाधिकारी चयन गर्ने सम्भावना पनि छैन । एमसीसी विरोधी मत पार्टीभित्र हाबी भएका बेला पदाधिकारीको चयन गर्दा आफूलाई ब्याकफायर हुने प्रचण्डले बुझेका छन् । पार्टीभित्र प्रचण्ड अल्पमतमा परेको दाबी प्रचण्डइतरका नेताहरूको छ ।

‘पार्टीभित्र अध्यक्ष प्रचण्ड अल्पमतमा पर्नुभएको छ, त्यसैले एमसीसीबारे छलफल पनि नगर्ने र पदाधिकारीको चयन पनि नगर्ने रणनीति उहाँले लिनुभएको बुझिएको छ,’ माओवादी केन्द्रकै एक केन्द्रीय सदस्यको भनाइ छ ।

चुनाव पनि एक्लै लड्न नसक्ने र पार्टीलाई पनि एकढिक्का राख्न नसक्ने अवस्थामा प्रचण्ड पुगेका छन् । यसलाई ‘राजनीतिमा प्रचण्ड युगको अन्त्य त भएको होइन ? भन्ने अर्थमा राजनीतिक वृत्तमा छलफल हुन थालेको छ ।

आफूलाई कम्युनिस्ट दाबी गर्दै आएका प्रचण्डले अमेरिकी सहायता परियोजनालाई व्याख्यात्मक टिप्पणीमार्फत पैरवी गर्नुले प्रचण्ड अन्तर्राष्ट्रिय दबाब पनि सामना गर्न नसक्ने नेताका रूपमा चिनिएका हुन् । राजनीतिमा पटक पटक बोल्ड डिसिजन गरेको दाबी गर्ने प्रचण्डले गरेका ती निर्णयहरू पछिल्लो समयमा राष्ट्रिय हीतप्रतिकूल देखिने खतरा उत्तिकै छ ।

पहिलो संविधानसभामा चमत्कारिक चुनावी सफलता हासिल गरेका प्रचण्ड प्रधानसेनापति प्रकरणमा चुक्दा नराम्रो धक्का खान पुगे । उनी दोस्रो संविधानसभाको चुनावमा तेस्रो शक्तिका रुपमा खुम्चन पुगे । तर, २०७४ सालको आमनिर्वाचनमा प्रचण्डले रणनीतिक चार्तुयताबाट शक्ति आर्जन गरे । माओवादीलाई तेस्रो ठूलो दल बनाउने सफलता हासिल गर्दा दोस्रो संविधानसभाको चुनावको अवस्थामा निकै सुधार गरेका थिए ।

प्रचण्डले एमालेसँग माओवादीको एकताबाट नेकपा एमाले गठन गर्दा निकै शक्तिशाली बन्ने प्रयास गरे । तर, उनलाई केपी शर्मा ओलीले सफल हुन दिएनन् । नेकपा फुटेपछि प्रचण्ड माओवादी केन्द्रका रुपमा पुनः खुम्चिए । तर, उनको साथ पाएका माधव नेपालले एमाले फुटाए ।

प्रचण्ड पूर्वमाओवादीबीचको एकतासँगै माधव नेपालसँग पनि एकताका लागिसमेत प्रयासरत छन् । तर एमसीसी पास भएपछि वामपन्थी वृत्तमा प्रचण्डको स्वीकार्यता घट्दै गएको छ ।

कांग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेर प्रचण्डले शक्ति आर्जन गर्ने रणनीति अपनाएको भएपनि कांग्रेसकै नेताहरूले तालमेल हुन नसक्ने बताइरहेका छन् । एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले प्रचण्डलाई राम्रैसँग उपयोग गरेका थिए । तर चुनावमा देउवाले प्रचण्डसँग सहकार्य गर्छन् कि गर्दैनन् भन्नेमा शंका छ ।

गत स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल असफल रहेको थियो । यो बेला पनि त्यस्तै हुने खतरा उत्तिकै छ ।