एमिकस क्युरीको राय: संविधानको रक्षा अब सर्वोच्च अदालतले गर्नुपर्छ - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

एमिकस क्युरीको राय: संविधानको रक्षा अब सर्वोच्च अदालतले गर्नुपर्छ



काठमाडौं- संसद विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा पक्ष र विपक्षको बहस सकिएको छ । मंगलबारबाट एमिकस क्युरीबाट राय लिने प्रक्रिया सुरू भएको छ ।

एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले अब संविधानको रक्षा सर्वोच्च अदालतले गर्नुपर्ने बताएका छन् । इजलासलाई राय दिँदै कार्कीले संविधान दुर्घटनामा परिसकेको समेत बताए ।

अधिवक्ता कार्कीले संविधान निर्माणका क्रममा ४ राजनीतिक दलबीच १६ बुँदे सहमति भएको र त्यहि समहती अनुसार संविधान निर्माण प्रक्रिया अगाडी बढेको स्मरण गराएका थिए ।

‘प्रतिनिधिसभा विघटन भइसकेको छ । संविधान जसले लागू गर्नुपर्ने थियो, उसैबाट हाम्रो संविधान दुर्घटनामा पर्‍यो । बाहिर मानिसहरू आफैं बोली रहेका छन् । यस्तो अवस्थामा इजलासमा बस्ने ५ जना श्रीमान्हरूले गर्ने निर्णय नै महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘संविधानको रक्षा गर्नुपर्नेहरू आन्दोलनमा लागेका छन् । सविधानको दुर्घटना भएको स्वीकारेका छन् । हामीले संविधान जोगाउन नसकेको हो । अहिले अदालतको सहारा खोजिएको छ ।’

संविधान निर्माणका क्रममा ४ राजनीतिक दलबीच १६ बुँदे सहमति नहुँदासम्म सहमति हुन नसकेको स्मरण गर्दै कार्कीले भने, ‘संविधानको धारा ७४ मा संसदीय प्रणाली बहुलवादमा आधारित हुने भन्ने छ । साथीहरूबाट आएका कुरो संसदीय भन्ने कुरोमा कुनै अल्मलिनुपर्ने कारण देख्दिनँ ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीका रूपमा नेपाल बार एसोसिएसनबाट ३ र सर्वोच्च अदालत बारबाट २ जना गरी ५ जनालाई अदालतको सहयोगीका रूपमा सहभागी गराइएको छ ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्कीसहित विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् ।