एमालेमा अब ३०१ जना केन्द्रीय सदस्य - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमालेमा अब ३०१ जना केन्द्रीय सदस्य



चितवन- नेकपा (एमाले)मा अब ३०१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ । चितवनमा जारी १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षीको व्यवस्थापन गर्न एमालेमा नयाँ प्रस्ताव तयार गरिएको छ।

प्रस्ताव अनुसार एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउन खोजिएको छ। एमालेको विधान महाधिवेशनले केन्द्रीय कमिटी २२५ सदस्यीय हुने तय गरेको थियो। अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँगको छलफलका आधारमा यो प्रस्ताव तयार पारेका हुन्।

त्यसैगरी एमालेले गत असोजमा सम्पन्न विधान महाधिवेशनबाट हटाइएको पोलिटब्यूरोको संरचना ब्युँताउने प्रस्ताव तयार गरिएको छ। एमालेमा यसअघि स्थायी कमिटीभन्दा ठिक मुनि पोलिटब्यूरो रहे पनि त्यसलाई हटाइएको थियो।

एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षी नेताहरुको पदीय व्यवस्थापनका लागि विधान नै संशोधन गर्नुपर्नेसम्मको आवाज उठेपछि यस्तो प्रस्ताव तयार भएको एक नेताले बताए। विधान संशोधनका लागि अन्तिम केन्द्रीय कमिटी बैठकले निर्णय गरेर जारी महाधिवेशनको बन्दशत्रमा प्रस्ताव लैजान सक्छ।

यो प्रस्ताव शुक्रबार राति बस्ने एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकमा पेस गर्ने तयारी छ। तर, ८ बजे बस्ने भनिएको बैठक बल्ल ११ बजे बसेको छ।