एमालेकै गफ गरेर सकियो गठबन्धनको बैठक: मन्त्रिपरिषद र एमसीसीबारे कुरै भएन - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

एमालेकै गफ गरेर सकियो गठबन्धनको बैठक: मन्त्रिपरिषद र एमसीसीबारे कुरै भएन



काठमाडौँ । मन्त्रिपरिषद विस्तार र एमसीसीबारेआवश्यक निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आज पनि मन्त्रिपरिषदको विषयमा केही छलफल गर्न भने सकेन ।

मन्त्रिपरिषद् विस्तार गर्न र एमसीसीबारे छलफल गर्न बसेको बैठकमा नेकपा एमालेले संसदमा गरेको वितण्डाको चर्चा भएको थियो । एमालेले संसदमा देखाएको क्रियाकलापकै बिषयमा लामो छलफल र चर्चा भएको एक नेताले बताए ।

मन्त्रिपरिषद विस्तारका लागि देउवाले अन्य राजनीतिक दलका नेताहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । तर हालसम्म पनि दलहरुले मन्त्रीहरुको नाम भने टुंगो लगाउन सकेका छैनन् ।

मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न बसेको गठबन्धन बैठकमा एमालेले संसद अवरुद्ध पारेको विषयमा पनि छलफल भएको छ । आजको बैठकमा गठबन्धनका नेताहरुले संसदमा प्रतिपक्षले लगातार गरिरहेको विरोध प्रदर्शन र अवरोधलाई सशक्त प्रतिकार गर्ने प्रतिबद्धता गरेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यस्तै नेकपा (एमाले)ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ ।

छलफलमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ । देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा हाल चार मन्त्री र एक राज्यमन्त्री छन् ।