संसदमा १८७ दिन एमालेको तमासा, बन्यो नयाँ रेकर्ड - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

संसदमा १८७ दिन एमालेको तमासा, बन्यो नयाँ रेकर्ड



काठमाडौँ- संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्‌को अधिवेशन अन्त्य गरेको छ ।

२८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसद्‌को १०औँ अधिवेशनमा देउवा नेतृत्वको सरकारले एउटा पनि नयाँ विधेयक दर्ता गरेन । संसद्‌को पछिल्लो बैठक २९ फागुनमा बसेको थियो ।

‘प्रतिनिधिसभाको चालु अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता भएको छैन,’ प्रतिनिधिसभाले सो अवधिमा भए गरेका काम कारबाहीको संक्षिप्त जानकारी दिदैँ उल्लेख गरेको छ, ‘यस अधिवेशनमा सभाका अघिल्ला अधिवेशनबाट विभिन्न चरणमा रहेका जम्मा ४२ वटा विधेयक प्राप्त भएका थिए ।’

जसमध्ये प्रतिनिधिसभाको ८ फागुन २०७८ को बैठकमा ‘लोकसेवा विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त सन्देश मात्र टेबुल भएको संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

त्यसो त प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नवौं र १० औं अधिवेशनको १ सय ८७ औं दिनसम्म संसद्‌भित्र नाराबाजी गरेर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको नयाँ रेकर्ड कायम गराएको छ ।

पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित एमालेले नवौं र दशौं अधिवेशनको समयसिमा भित्रको १८७ औं दिनसम्म नाराबाजी गरेर निर्णय सच्चाउन दबाब बढाउने कामलाई मात्रै निरन्तरता दियो ।

सभामुख सापकोटाले बोलाएको तीनवटा सर्वदलीय बैठकसमेत बहिस्कार गरेको प्रतिपक्ष एमालेले पार्टीले निष्कासन गरेका १४ सांसदलाई कारवाही नगरेसम्म संसद्‌ अवरुद्ध गर्ने अडान २९ चैतसम्म पनि कायम नै राखेको थियो ।