ओलीको निर्णय सकारात्मक, तर यत्तिले एमाले एकता जोगिन्न: पाण्डे - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीको निर्णय सकारात्मक, तर यत्तिले एमाले एकता जोगिन्न: पाण्डे



काठमाडौं- बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको छ। यसअघि उनीहरूलाई ६ महीनाका लागि निलम्बन गरिएको थियो। 

कारबाही फिर्ता गर्ने निर्णय सकारात्मक भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए। उनले भने, “चार जनामाथिको कारबाही फिर्ता गर्ने निर्णय सकारात्मक छ।”

नेता पाण्डेले यतिले मात्रै एमाले एकता नजोगिने बताए। एमालेलाई एकीकरणअघिकै अवस्थामा फर्काउनुपर्ने उनको भनाइ छ। “एमालेलाई २ जेठकै अवस्थामा फर्काउनुपर्छ, हामी यो ‘बटमलाइन’मा कायम छौं,” पाण्डेले भने। 

नेपाल पक्षले एमालेलाई पुरानै अवस्थामा फर्काउनुपर्ने बताउँदै आएको छ। माओवादी र एमाले अलग भएपछि अध्यक्ष ओलीले पदाधिकारीको जिम्मेवारी खोसेका छन्। त्यस्तै, केन्द्रीय कमिटीमा माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापा लगायतलाई थपिएको छ। 

जिल्लादेखि केन्द्रसम्मका नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ। यी सबै निर्णय खारेज गरेर पहिलेकै अवस्थामा ल्याउनुपर्ने नेपाल समूहको माग छ। 

माग पूरा नभए प्रतिनिधि सभाको सदस्य पदबाट समेत राजीनामा दिने उनीहरूले चेतावनी दिएका छन्। यसअघि उनीहरू प्रधानमन्त्री ओलीले संसद्‌मा विश्वासको मत लिँदा अनुपस्थित थिए।