एमालेले स्थानीय तहमा कांग्रेस र माओवादीसँग पनि तालेमल गर्ने - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

एमालेले स्थानीय तहमा कांग्रेस र माओवादीसँग पनि तालेमल गर्ने



काठमाडौं- एमालेको बिहीबार बसेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। सरकार गठनको सम्भावनालाई हेरेर सांसदको संख्या नघटाउने निश्कर्ष निकालिएको उनले बताए। स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्था छ।

यससँगै एमालेले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका विषयमा पनि छलफल भएको जनाएको छ। एकल सिफारिश भएका बाहेकका उम्मेदवारको विषयमा सचिवालय बैठकमा छलफल भएको छ।

एमालेका सबै महानगर र उपमहानगर कमिटीले उम्मेदवारको सिफारिश गरिसकेका छन्। बैठकमा ललितपुर महागनरबाट हरिकृष्ण व्यञ्जनकार, भरतपुर महानगरबाट विजय सुवेदी र वीरगञ्ज महानगरबाट विजय सरावगीको मात्रै एकल सिफारिश भएको महासचिव शंकर पोखरेलले जानकारी गराएका थिए।

महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन वैशाख १० गते अपराह्न ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको छ।

स्थानीय तहमा सबै पार्टीसँग तालमेल हुनसक्ने प्रचार विभाग प्रमुख गुरुङले बताए। “स्थानीय तहमा एमालेले तालमेल गरेका बाहेक सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग पनि तालेमल हुनसक्छ,” गुरुङले भने।