एमालेले राख्यो संसद खुलाउन यस्तो सर्त - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

एमालेले राख्यो संसद खुलाउन यस्तो सर्त



काठमाडौं – नेकपा एमालेले विगत साउनदेखि अवरुद्ध गर्दै आएको संसद् बैठक खुलाउनले उपायका लागि सभामुख अग्‍निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान राखेको छ।

एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले सभामुखको राजीनामापछि मात्रै संसद्को अवरोध हट्ने बताएका हुन्।

उनले भने, ‘संसदमा केही महिनादेखि जारी गतिरोधसँग जोडिएका विषयमा हामीले आफ्ना कुरा पहिले नै राखेका छौं। हामीले कारबाही गरेका १४ सांसदबारे अदालतमा मुद्दा पनि चलिरहेको छ। हामीले कारबाही गरेका सांसद राखेर संसद चलाइएको छ, त्यसलाई हामी स्वीकार्दैनौं।’

उनले एमालेले कारबाही गरेका सांसदहरुबारे भएको निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने बताए। उनले थपे, ‘यदि हामीले गरेको कारबाहीलाई सदर नगर्ने निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने उहाँले संसद चलाउन मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्छ। सभामुखले कमजोरी नसच्याएसम्म संसद अघि बढ्न सक्दैन। अवरोध जारी रहन्छ।’

सरकारले पुस ६ गते बस्‍ने संसद् बैठकमा एमसीसी अघि बढाउने तयारी थालेको छ। त्यसका लागि एमालेसँग पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले छलफल गरिरहेको छ। छलफलका क्रममा एमालेले कांग्रेसलाई गठबन्धन भत्काउने हो भने आफू तयार रहेकोसमेत जनाएका छन्।