एमालेभित्र फेरि दुर्घटनाको संकेत - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

एमालेभित्र फेरि दुर्घटनाको संकेत



काठमाडौं- नेकपा (एमाले)मा फेरी दुर्घटना हुने संकेत देखिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य सकिएको बताएपछि मध्यमार्गी नाताहरूले तिब्र असन्तुष्टि ब्यक्त गरेका छन् ।

केहि नेताहरूले ओलीको उक्त अभिव्यक्तिपछि आफू निकट नेताहरूसंग छलफल गरिरहेका छन् भने कतिपय नेताहरूले पार्टीको बैठकमा जोड्तोड़ले उठाउने तयारी गरेका छन् । यस्तै केहि नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न थालेका छन्

यस्तै एमालेका उपाध्यक्ष डा.भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत असन्तुष्टि जनाएका हुन्। रावलले ट्विटमा लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।’

ओलीले बुधवार काठमाडौंमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको भन्दै सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए। ‘१० बुँदेको केजाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन।

एक ठाउँ मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क! अब कति बजाउने ट्याङट्याङ?,’ उनले भने। ‘अब के १० बुँदे, १० बुँदे? हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला। फर्केर आउने काम गर्ने सिद्धियो त! माधव नेपालसँग झुक्किएर गएका बाटो बिराएका पनि फर्क भनिरहेका छौं त,’ उनले भने। उनले माधव नेपाललाई मिलाउन र पार्टी फुटाउन नदिन १० बुँदे गरिएको बताए। उनले नेपाल समूहबाट फर्किएकाहरुलाई कुनै भेदभाव नगरिने बताएका थिए।