ईश्वर पोखरेलले गरे एमाले र राप्रपाको एकता हुने संकेत
काठमाडौँ – एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेको एकता हुने संकेत गरेका छन्। उनले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने भन्दै यस्तो संकेत गरेका हुन् ।
काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए । पछिल्लो समय हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डामा एमालेभित्र गृहकार्य भैरहेको अपुष्ट चर्चा हुने गरेको छ । यस्तो अवस्थामा एमालेका वरिष्ठ उपाध्यक्षले नै राप्रपा र एमालेको एजेण्डा मिल्ने बताउनुलाई अर्थपूर्ण मान्न सकिन्छ।
कम्युनिस्ट पार्टी भएर पनि एमालेले हिन्दु धर्मलाई प्रवर्दन गर्ने र संघियता खारेजीको मुद्दा उठाउन थालेको छ । राप्रपाले पनि हिन्दु राज्य, संघियता खारेजी र राजसंस्थाको वकालत गर्दै आइरहेको छ ।
पोखरेलले कार्यक्रममा सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताए । विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका उनले देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए । देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उनले एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।