ओली एक्लो भगवान, अरू ६ हजार दास हुन् ? - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

ओली एक्लो भगवान, अरू ६ हजार दास हुन् ?



काठमाडौं – नेकपा एमालेको जारी विशान महाधिवेशनबारे सर्वत्र आलोचना भैरहेका बेला वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले समेत एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गरिरहेको भन्दै व्यंग्य गरेका छन्।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशन स्थललाई केपी ओलीमय बनाइएको छ । प्रतिनिधि बोक्ने गाडीदेखि पानीको बोतलमा समेत ओलीको फोटो अंकित गरिएको छ । कैयौँ व्यक्तिको योगदानले बनेको पार्टीमा ओलीलाई मात्रै फोकस गरेर प्रतिमा बनाइएकोप्रति लेखक संग्रौलाले व्यंग्यात्मक टिप्पणी गरेका छन्।

एमालेको महाधिवेश स्थलको स्वागतद्वारमा अध्यक्ष ओली मात्रै होइन, उनी निकटस्थ प्रदेश सांसददेखि जनवर्गीय संगठनका अध्यक्षसम्मको फोटो टाँसिएको छ। मञ्चमा पनि ओलीका ठूलाठूला होडिङबोर्ड राखिएका छन्। कार्ल मार्क्सदेखि मदन भण्डारीसम्मका स्ट्याचु त कार्यक्रम स्थलमा छन् तर तिनलाई ओलीका स्ट्याचुले छायाँमा परेका छन्।

यसैप्रति संकेत गर्दै लेखक संग्रौलाले शनिबार बिहान ट्वीटरमार्फत् एमालेको व्यंग्य गरेका हुन्। उनले एमालेलाई कम्युनिष्ट नामको कलंकको संज्ञासमेत दिएका छन्।

‘बालकोट गोदावरी बाटाभरि ओलीका फोटैफोटा। लामबध्द भक्तद्वारा ओलीको गोदावरी सवारी चलान,’ संग्रौलाले अगाडि लेखेका छन्, ‘मञ्चमा न मार्क्स न पुष्पलाल। मञ्चमा केवल ओली, बोतलमा ओली। ६ हजारको भीडमा एक राजा, अरू प्रजा। एक देवता, अरू दास। एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण। हैट् कम्निस्ट नामको यो कलंक!’