एमाले र माओवादीबीच सिद्धान्त र नेतृत्वको कुरा मिलेपछि मात्र पार्टी एकता:श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमाले र माओवादीबीच सिद्धान्त र नेतृत्वको कुरा मिलेपछि मात्र पार्टी एकता हुने बताएका छन् ।
उनले पार्टी एकताको लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अझै छलफल नपुगेको बताउँदै सिद्धान्त र नेतृत्वको कुरा मिलेपछि पार्टी एकता हुने बताएका हुन् । “पार्टी एकताको लागि अझै ओलीजी र प्रचण्डजीको छलफल पुगेको छैन । नेतृत्व र सिद्धान्तको कुरा मिलेपछि छिट्टै पार्टी एकता हुन्छ, “श्रेष्ठले बाह्रखरीसँग भने ।
नेता श्रेष्ठले पछिल्लो समय वाम गठबन्धनको सरकार बन्नेमा विभिन्न आशंका आएको बताउँदै पार्टी एकताको सम्पूर्ण तयारी पूरा गरेर एमाले र माओवादीबीचको सरकार बन्ने बताए ।
“पार्टी एकता र सरकार गठनको बारेमा पछिल्लो समय मीडियाहरुमा विभिन्न भ्रामक समाचारहरु आउन थालेका छन्,” नेता श्रेष्ठले अगाडि भने, “त्यस्ता हल्लाको पछाडि नलाग्न म सबैलाई अनुरोध गर्दछु । वामपन्थी सरकार र पार्टी एकताको लागि जनताले हामीलाई बहुमत दिएकाले अब एमाले र माओवादीबीचको सरकार गठनलाई कसैले रोक्न सक्दैन ।” बाह्रखरीबाट