एमालेको प्रस्ताव: कांग्रेसले भन्दा धेरै सिट दिन्छौँ, मिलेर चुनाव लडौँ - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

एमालेको प्रस्ताव: कांग्रेसले भन्दा धेरै सिट दिन्छौँ, मिलेर चुनाव लडौँ



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य शिर्ष नेताहरूले कुनै हालतमा नमिल्ने भाषण गर्दै गर्दा नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई एमालेले मिलेर चुनाव लड्न प्रस्ताव गरेको भेटिएको छ ।

एमालेले कांग्रेसले भन्दा आफूहरूले बढी सिट दिने भन्दै माओवादी र समाजवादी फकाउन थालेको छ । मिलेर निर्वाचन लड्न प्रस्ताव गरेको एमाले सुदूरपश्चिमका एक नेताले स्वीकार गरेका छन् । चुनाव नजीकिंदै जाँदा एमालेले अन्य पार्टीहरूसँग तालमेलका लागि हात वधौना थालेको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्ला र पालिका नेतृत्वसँग एमालेले मिलेर जान औपचारिक प्रस्ताव अघि सारेको हो । केन्द्रमा अध्यक्ष ओली र अन्य शिर्ष नेताहरूले माओवादी र समाजवादीलाई तथानाम गाली गरिरहेको बेला चुनावमा मिलेर जानको लागि प्रस्ताव गरिएको हो ।

एकीकृत समाजवादीको अस्तित्व स्वीकार नगर्ने र एकीकृत समाजवादीका नेताहरू अथिति भएको कार्यक्रममा नजाने सर्कुलर गरेको एमालेले तल्लो तहमा भने सहकार्यको प्रस्ताव अघि सारिरहेको छ । एकीकृत समाजवादीका एक नेताका अनुसार एमालेले भनेजति सिट दिन तयार छ ।

एमालेका जिल्ला नेताहरूले डोटी, अछाम, डडेलधुरा र कैलालीमा स्थानीय तह निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् । आसन्न निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएपछि एमालेले यस्तो प्रस्ताव राख्न थालेको हो ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीको राम्रो प्रभाव छ । प्रभाव राम्रो भएकै कारणले एमालेले कांग्रेसले भन्दा बढी सिट दिने बाचा गरेको छ । सार्वजनिक रूपमा एमाले नेताहरूले माओवादी र एकीकृत समाजवादीका नेतामाथि खनिए पनि चुनाव नजित्ने भएपछि मिलेर जान प्रस्ताव गरेका छन् ।

एमालेले सहकार्यको प्रस्ताव अघि सारे पनि आफूहरू पार्टी नेतृत्व र नीतिभन्दा बाहिर नजाने समाजवादीका सुदूरपश्चिम प्रदेशका नेताहरूले बताउने गरेका छन्। तल्लो तहमा मिलेर जानुपर्छ भन्ने साथीहरूको दबाब छ । तर, हामी पार्टीको लाइनभन्दा बाहिर जाँदैनौँ । उनी भन्छन् ।

एकीकृत समाजवादीसँग मात्र होइन माओवादी केन्द्रसँग पनि मिलेर जान एमालेले प्रस्ताव गरेको छ । ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ०७४ सालको निर्वाचनमा माओवादीले १० स्थानीय तह मात्रै जितेको थियो ।

नेपाली कांग्रेसभित्र गठबन्धनलाई लिएर व्यापक अन्तरविरोध रहेकाले एमालेसँग मिलेर जान माओवादी नेताकार्यकर्ताहरू पनि कतिपय स्थानमा सकारात्मक देखिएको बताइएको छ ।

एमाले नेताले कांग्रेससँगको तालमेलमा पाउने सिटभन्दा आफूहरू बढी दिन तयार रहेको बताएको माओवादी र एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।