एमाले विभाजन: प्रदेश २ मा कसको पल्ला भारी ? - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

एमाले विभाजन: प्रदेश २ मा कसको पल्ला भारी ?



काठमाडौं- एमाले विभाजन भएपछि देशव्यापी रूपमा पार्टीको कित्ताकाट हुन थालेको छ । यस्तै प्रदेश–२ का अधिकांश प्रदेश सभा सदस्यहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन्। तर, दुवै पक्षले यो प्रदेशमा आफ्नो पार्टी बलियो भएको दाबी गर्न छाडेका छैनन्।

सर्वोच्च अदालतले २३ फागुन २०७७ मा गरेको फैसलापछि नेकपा विभाजित भयो। विभाजनपछि प्रदेश सभा सदस्यहरूमध्ये २१ जना एमाले र ८ जना माओवादीमा लागे। एमालेका सांसदमध्ये १३ जना एकीकृत समाजवादीमा लागेका छन्।

गत चैतमा प्रदेश–२ एमाले संसदीय दलको नेताबाट एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललाई हटाएर माधव नेपाल पक्षका नेता शत्रुधन महतो दलको नेता चुनिएका थिए। त्यति वेला पनि महतोले १३ मत पाएका थिए।

पार्टी विभाजनपछि प्रदेश–२ मा एमालेका जम्मा ८ प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीका नेता शत्रुधन महतो बताउँछन्। उनी भन्छन्, “अहिले प्रदेश सभामा एमालेभन्दा हामी बलियो छौं।”

२०७५ सालमा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेपछि प्रदेश–२ को संसद्‌मा नेकपा दोस्रो ठूलो शक्ति बन्योे। नेकपाले यो प्रदेशमा १०७ मध्ये २८ प्रदेश सभा सदस्य जितेको थियो। एमाले फुटेपछि भने १९ सांसद रहेको  कांग्रेस  प्रदेश सभाको दोस्रो ठूलो दल बनेको छ।

सांसदहरू
एमालेबाट चुनाव जितेका प्रदेश सभा सदस्यहरूमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातुन नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेका छन्।

सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद भने ओली पक्षमै छन्।

एकीकृत समाजवादीका नेता शुत्रधन महतो अध्यादेशमा २१ दिनसम्म जनप्रतिनिधिहरूले पार्टी रोज्न पाउने भएकाले त्यसपछि वास्तविक आँकडा आउने बताउँछन्।एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साह स्थानीय तह, प्रदेश सभा र केन्द्रमा समेत आफ्नो पार्टी बलियो हुने दाबी गर्छन्।

एमाले प्रदेश–२ का अध्यक्ष ज्वाला साह भने एकीकृत एमाजवादीभन्दा आफ्नो पार्टी नै बलियो भएको बताउँछन्। अहिले दुवैतिर नखुलेका जनप्रतिनिधिहरू अन्तिममा विभाजनको पक्षमा नगएर एमालेमै आउने बताउँछन्।

एमाले प्रदेश सभा सदस्य शारदादेवी थापा प्रदेश सभामा गणितीय हिसाबमा कमजोर देखिए पनि जनाधार भने एमालेकै बलियो रहेको दाबी गर्छिन्। उनी भन्छिन्, “सूर्य चिह्नलाई माया गर्नेहरू पक्कै पनि ओली कमरेडको पक्षमा उभिनेछन्।”