एमाले महाधिवेशनमा प्यानल बनाउन नपाइने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

एमाले महाधिवेशनमा प्यानल बनाउन नपाइने



काठमाडौँ — एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा प्यानलको आधारमा प्रतिस्पर्धा नहुने भएको छ । पार्टी विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टै प्यानल बनाएर चुनौती दिने अर्को समूह छैन । व्यक्तिगत रूपमा पदाधिकारी वा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिने तयारी भने केही नेताले गरेका छन् ।

आठौं र नवौं महाधिवेशनमा प्यानल निर्माण गरेर नेतृत्व छनोटका लागि चुनावी प्रतिस्पर्धा भएको थियो । बुटवलमा भएको आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेको अध्यक्षमा त्यस समय झलनाथ खनाल र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा भएको थियो । पाँच वर्षपछि अध्यक्षमा ओली र माधवकुमार नेपालले सिंगो प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । अहिलेकै विधानअनुसार पदाधिकारीमा सर्वसम्मति गर्न ठूलो चुनौती रहने देखिन्छ ।

‘यस पटक महाधिवेशनमा आठौं र नवौंमा जस्तो प्यानल निर्माण गरेर नेतृत्व छनोट हुँदैन, प्यानल निर्माण हुँदा धेरै आकांक्षीको चाहना पूरा हुन्थ्यो र व्यवस्थापन हुने अवस्थामा हुन्थ्यो,’ एमालेका एक नेताले भने, ‘अहिलेको पदाधिकारीको संख्या नबढाउने हो भने पदाधिकारीमा प्रतिस्पर्धा हुने निश्चित छ ।’ सर्वसम्मत अध्यक्ष हुने र अन्य पदाधिकारीमा निर्वाचन नगराउने चाहना पूरा हुने सम्भावना निकै कम देखिन्छ ।

विधान महाधिवेशनबाट पारित भएको विधानअनुसार एमालेमा १५ जना पदाधिकारी रहन्छन् । नवौं महाधिवेशनबाट निर्वाचित १४ पदाधिकारीमध्ये १२ जना कायम छन् । एमाले उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान महाधिवेशनले जस्तै सर्वसम्मत रूपमा नेतृत्व छनोट गरेर आन्तरिक एकतालाई मजबुत बनाउने बताए । ‘विधान महाधिवेशनजस्तै एकताको सन्देश नेतृत्व छनोट गर्ने महाधिवेशनबाट दिनेछौं,’ उनले भने, ‘अहिले हामी विधान निर्माण गरेर त्यसको कार्यान्वयन चरणमा छौं । अधिकारको दृष्टिकोणले राष्ट्रिय महाधिवेशनले विधान र नीतिमा परिवर्तन गर्न सक्ने अधिकार भए पनि मेरो विश्वास के हो भने विधानको प्रबन्धअनुरूप नेतृत्व निर्माण हुन्छ ।’

एमालेमा उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनेपछि र अध्यक्ष ओलीसँग असन्तुष्टि जनाउँदै उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएपछि एमालेमा १२ पदाधिकारी कायम छन् । त्यसो त गौतम एमालेमै रहेको भए पनि कार्यकारी पदमा उम्मेदवार बन्न सक्ने थिएनन् । एमालेमा ७० वर्षे उमेरहद छ । अहिले उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव पौडेल र घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराई छन् । पदाधिकारी रहेकाहरू कम्तीमा सोही पदमा दोहोरिने चाहना र आकांक्षीहरूको संख्याका कारण सर्वसम्मत हुने सम्भावना कम देखिन्छ । दुवै महाधिवेशनभन्दा फरक परिस्थितिमा एमाले छ । त्यस समयमा नेतृत्वमा तीव्र प्रतिस्पर्धा थियो । माधवकुमार नेपाल र उनको समूहका नेताहरूले नयाँ दल निर्माण गरेपछि एमालेमा अध्यक्ष ओली झनै शक्तिशाली भएका छन् तर उनीमाथि सबै पक्षलाई समेटेर लैजानुपर्ने दबाब बढेको छ ।

एमालेभित्र अध्यक्ष ओली, दसबुँदे सहमति पक्षधर र पूर्वमाओवादी गरी तीन धार छन् । विधान महाधिवेशनमा पदाधिकारी संख्या बढाउन नमानेका ओलीसामु तीनै धारका आकांक्षीलाई मिलाएर सर्वसम्मत गर्न चुनौती देखिएको छ ।