एमालेका नेताहरूले अब मासिक पाँच हजार तिर्नुपर्ने
काठमाडौं : नेकपा एमालेले उम्मेदवार छनौटका मापदण्ड बनाएको छ। एमालेले अन्तरपार्टी निर्देशन-३ जारी गर्दै ६ बुँदे मापदण्ड तल्लो कमिटीलाई पठाएको छ।
जसअन्तर्गत पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशिता रहेका छन्।
पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ५ हजार रुपैँयाका दरले ५ हजार जनाले लेवी तिर्नुपर्ने छ। यो अभियानलाई ‘फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान’ नाम दिइएको छ।
एमालेका उच्च आय भएका ५ हजार सदस्यले यो कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना ५ हजारका दरले योगदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ। आ-आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरेको छ।
महानगर र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा उम्मेदवारको सिफारिस सम्बन्धित महानगर र उपमहानगर कमिटीले गर्ने भएको छ। सो सिफारिसमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने र यससम्बन्धी निर्णय केन्द्रले गर्ने निर्णय गरेको छ।