एमालेका प्रभावशाली नेताद्वारा राजनीतिक यात्रा विश्रामको घोषणा
काठमाडौँ- नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष टीकाराम खड्काले राजनीतिबाट विश्राम लिएका छन् । खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक यात्राबाट आफूले विश्राम लिएको जनाएका हुन् ।
उनले २० वर्षको उमेरमा विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील हुँदै आएको बताएका छन् । राजनीतिक आन्दोलनमा सहभागी हुँदै गर्दा ८ महिना जेल बस्नु परेको स्मरण गर्दै खड्काले विभिन्न समयमा भएका आन्दोलनमा आफूले सहभागिता जनाएको बताएका छन् ।
‘आज म ज्यादै खुसी छु, संगठनको काम गर्दा सबै मित्रको निकै ठुलो सहयोग पाएँ । म सबैलाई धन्यवाद र कृतज्ञता प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशनलाई भव्य र सभ्य सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरूलाई आयोजकका नाताले धन्यवाद दिन चाहन्छु । र आजैका दिनदेखि राजनीतिक यात्रा विश्राम लिने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु ।’