एमालेलाई पेलेरै आर्थिक विधेयक पास गर्ने तयारी
काठमाडौं- आज बिहिबार प्रतिनिधि सभा बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी दल एमालेले आजपनि संसद अवरुद्ध गर्ने भएको छ । सरकारले भने प्रमुख विपक्षी एमालेलाई पेलेरै आर्थिक विधेयक पास गर्ने तयारी गरेको छ।
प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्न लागेको हो। बैठकमा आर्थिक विधेयक, २०७८ पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। सुरुमाआर्थिक विधेयक, २०७८ माथि छलफल हुनेछ। लगत्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने र त्यसपछि आर्थिक विधेयक, २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ।
यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पनि पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। सुरुमा राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले न्याय नगरेसम्म संसद् अवरोध कायमै रहने जानकारी गराउँदै आएका छन्।
यस अगाडि पनि प्रमुख विपक्षी एमालेको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाबाट बजेट (विनियोजन विधेयक) पारित भएको थियो। सभामुख अग्नि सापकोटाले एमाले अवरोधबीच बजेटलाई निर्णयार्थ पेश गरे र बहुमतले पारित भएको घोषणा गरेका थिए।
सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले भदौ २३ देखि संसद अवरोध गर्दै आएको छ। एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। एमालेले घुमाउरो भाषामा १४ सांसदलाई कारबाही नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने सर्त अगाडि सारेको छ।
एमालेले ‘संसदीय मर्यादा कायम गर, यथास्थितिमा संसद् चल्दैन’ भन्दै नारावाजी गर्दै आएको छ। नारावाजी गरेपनि सभामुख सापकोटाले बजेट पारित गर्ने प्रक्रिया अघि बढाएका थिए। नेमकिपाका प्रेम सुवालले मात्र विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा सहभागिता जनाएका थिए। सत्तापक्षका कुनै पनि सांसदले छलफलमा भाग लिएनन्।
सुवालले विभिन्न मन्त्रालयको खर्च कटौती गर्न राखेका प्रस्ताव अस्वीकृत भएका थिए। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। एमालेले सभामुखमाथि ‘गम्भीर’ प्रश्न उठाएपनि त्यसको निरुपण हुन सकेको छैन।