एमालेमा सात उपाध्यक्ष र सचिव, प्रादेशिक र स्थानीय तहमा पनि बहुपदीय प्रणाली
काठमाडौं- एमालेको केन्द्रीय कमिटीमा प्रदेशअनुसार हुने गरी सात जना उपाध्यक्ष र सचिव हुने गरी संगठन संरचनाको व्यवस्था गरिनुपर्ने सुझाव आएको छ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा टोली नेताहरूले सुझाव तथा निष्कर्ष राख्ने क्रम जारी छ ।
असोज ८ देखि शुरू भएको बैठकको शनिबार दोस्रो दिन प्रदेशअनुसार बनेको समूहले बैठकमा प्रस्तुत भएको दस्तावेजमाथि छलफल गरेर टोली नेताले सुझाव तथा निष्कर्ष प्रस्तुत गरिरहेका छन् ।
एमालेले केन्द्रीय कमिटीमा प्रस्तुत भएको संगठन संरचनासम्बन्धी प्रस्तावमा ३ जना मात्रै उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ । तर, टोली नेताहरूले प्रदेशअनुसार सातवटा उपाध्यक्ष बनाएर उनीहरूलाई नै सम्बन्धित प्रदेशको इन्चार्जको जिम्मेवारी दिनुपर्ने सुझाव दिएका छन् ।
प्रदेश १ का टोली नेता हिक्मत कार्कीले पार्टीमा सात उपाध्यक्ष रहने व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन् । त्यसै गरी प्रादेशिक र स्थानीय कमिटी पनि बहुपदीय संरचनामा लैजाउनुपर्ने उनले बताए ।
उनीहरूले प्रस्तुत गरेको सुझावमा राजनीतिक प्रतिवेदनमा एमाले नेकपा एकीकरणको निरन्तरता भएको, संसद विघटनको स्पष्ट कारण उल्लेख हुनुपर्नेदेखि नेताहरूको जिम्मेवारी र कार्यकर्ताको मूल्यांकन हुनुपर्नेसम्मको विषय टोली नेताहरूले सुझावको रुपमा राखेका छन् ।
लुम्बिनी प्रदेश समूहका टोली नेता दलबहादुर रावलले कार्यकारी पदमा दुई पटक भन्दा बढी बस्न नहुने, माओवादीबाट एमालेमा आएका नेताहरूलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने, अहिले भएको जिम्मेवारी खोस्न नहुने, पार्टीको सदस्यता पाउन जनसंगठनमा काम गरेको अनुभवको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव राखेका छन् ।
त्यसै गरी बागमती प्रदेश टोली नेता आनन्द पाखेरेलले पार्टीका योगदान गर्ने कार्यकर्ताको मूल्यांकन हुने परिपाटी स्थापित हुनुपर्ने बताएका छन् । उनले निर्वाचनलाई ध्यानमा राखेर पार्टीको गतिविधि अघि बढाउनुपर्ने, सरकार र पार्टीका सम्बन्ध स्पष्ट गरिनुपर्ने सुझाव बैठकमा राखेका छन् ।
सरकारमा सहभागी भएका मन्त्रीले पार्टीको निर्देशन मानेर काम गर्नुपर्ने र पार्टीको निर्देशन नमान्ने मन्त्रीलाई अनुशासनको कारबाहीको दायरामा ल्याउने व्यवस्था हुनुपर्ने पोखरेलले बताएका छन ।
एमालेको केन्द्रीय कमिटी बैठकमा आगामी १५ देखि १७ सम्म आयोजना हुने प्रथम महाधिवेशनमा प्रस्तुत हुने तीन वटा दस्तावेजमाथि छलफल भइरहेको छ ।