एमाले नौ विभागका नौ कमाण्डर: संगठनमा विष्णु पौडेल, आर्थिकमा विष्णु रिमाल
काठमाडौं- नेकपा एमालेको स्थायी कमिटि बैठकले पार्टीका नौवटा विभाग गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौवटा विभाग गठन गरेको हो ।
विभागमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैँले राखेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेललाई मनोनीत गरिएको छ ।
प्रवक्ता ज्ञवालीले पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनीत गरिएको जानकारी दिए । विभागलाई पूर्णता दिन सदस्यहरुको मनोनित गर्ने काम भने बाँकी रहेको उनले बताए ।
एमालेले आगामी साउन २४ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनमा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।