नक्कली मान्छेलाई महाधिवेशन प्रतिनिधि बनाएको भन्दै कैलाली एमालेमा व्यापक असन्तुष्टि - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

नक्कली मान्छेलाई महाधिवेशन प्रतिनिधि बनाएको भन्दै कैलाली एमालेमा व्यापक असन्तुष्टि



काठमाडौं- नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा कैलालीमा व्यापक असन्तुष्टि देखिएको छ । पार्टी केन्द्रीय सदस्य एवम् सांसद झपट रावलले कैलालीका पुराना नेता/कार्यकर्ताको नाम हटाएर जथाभावी महाधिवेशन प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन्।

नेकपा एमाले कैलालीमा अधिवेशन र महाधिवेशन प्रतिनिधि छनौटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग गरिएको रावलले उल्लेख गरेका छन् । उनले कार्यकर्ताको चुनिने सार्वभौम अधिकारको चिरहरण भएको र जबजको उपहास भएको समेत बताएका छन् ।

नेता रावलले एमालेका नेता कार्यकर्ताको लिस्ट हटाएर नक्कली मान्छेलाई समेटेर महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताएका छन् ।

‘नेकपा एमालेका पुराना नेता कार्यकर्ताको लिस्ट हटाएर माओवादीबाट आएका र नक्कली व्यक्तिलाई समेटेर प्रतिनिधि छनोट गरिएको छ’, नेता रावलले भनेका छन्, ‘कार्यकर्ताको महाधिवेशन प्रतिनिधि चुनिने सार्वभौम अधिकारको चिरहरण भएको छ, यो जबजकै उपहास हो।’

एकता प्रक्रियाका नाउमा पूर्वमाओवादको तर्फबाट पूर्ण परिचय समेत नखुलाइकन सदस्यता वितरण भएको र उनीहरूलाई नै महाधिवेशन प्रतिनिधि छनोट गरिएकोमा रावलको आक्रोश थियो।

उनले आन्तरिक लोकतन्त्र र जबजको कुरा गरेर नथाक्ने नेताहरूले मदन भण्डारीको खिल्ली उडाएकोसमेत बताए।

महाधिवेशन प्रतिनिधि ल्याउँदा नै धाँधलीपूर्ण तरिकाले ल्याउने प्रयास भइरहेको उनको आरोप छ।

एमालेले महाधिवेशन प्रतिनिधिका लागि देशैभरि कात्तिक २७ गतेको मिति तोकेको थियो।