आफ्नो प्रस्ताव पारित भए एमसीसीको पक्षमा मतदान गर्ने एमालेको घोषणा
काठमाडौँ- नेकपा एमालेले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबुल भए संशोधन प्रस्ताव दर्ता गर्ने बताएको छ । आफूहरूले गरेको संशोधन प्रस्ताव स्वीकार भएमा एमसीसीको पक्षमा मतदान गर्ने घोषणा पनि एमालेले गरेको हो ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसद शेरबहादुर तामाङले भने, ‘एमसीसी संसदमा टेबुल भएमा संशोधन दर्ता गर्छौँ । हाम्रो संशोधन स्वीकार भएमा पक्षमा मतदान गर्छौँ ।’
एमसीसीलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनमा दरार उत्पन्न भएका बेला एमालेको पछिल्लो धारणा आएको हो । यसअघि एमालेले पहिले सत्ता गठबन्धनले एक धारणा बनाएपछि मात्रै एमसीसीबारे आफूहरूले बोल्ने बताएको थियो ।