एमाले फुटाउन २७ करोड रुपैयाँ उठाएको खुलासा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

एमाले फुटाउन २७ करोड रुपैयाँ उठाएको खुलासा



काठमाडौं । ३ नम्बर प्रदेश सरकारबाट बर्खास्तमा परेका मन्त्री केशव स्थापितले दुई दशकअघि नेकपा एमाले फुटाउन २७ करोड रुपैयाँ उठाएको बताएका छन् । उनले पार्टी नेता वामदेव गौतमको इशारामा यसो गरेको र जम्मा भएको रकमको बिल तत्कालीन लेखा समिति सदस्य रघुवीर महासेठलाई दिने गरेको बताएका छन् । नयाँ पत्रिका दैनिकमा केशव स्थापितको समाचार छापिएको छ ।

मध्यपृष्ठमा छापिएको समाचारमा भनिएको छ, ‘युवा संघको अध्यक्ष हुँदा पार्टीका नेताहरुको रेखदेख र नियन्त्रणको जिम्मा पाएको हुँ । लोकेन्द्रबहादुर चन्दसहित एमालेको सरकार बनाउने काममा पार्टीका नेता, सांसदहरुलाई होटलमा समिटमा लगेर थुनेको हुँ । फुलनदेवीको ‘बेन्डिट क्वीन’ फिल्म देखाएको हुँ । यस्तो काममाको विरोध राप्रपाका नेताले गरे तर हाम्रा नेताहरुले आरामले फिल्म हेरे । पछि माधवकुमार नेपालले सोध्दा सबै बताइदिएँ ।’

नेपालगञ्ज महाधिवेशनपछि पार्टी विभाजन हुँदाको सम्झनामा स्थापितले भनेका छन्, ‘होटल शंकरमा लगेर मनमोहन अधिकारीलाई राखियो, हामीलाई भेट्न पनि दिइएन । महाकाली सन्धी विरोधीमाथि कुटपिट भएकै हो । काठमाडौं महानगरको मेयर थिएँ । वामदेव गौतम कमरेडले पार्टी फुटाउन पैसा चाहिन्छ, जोहो गर्नुहोस् भने । मैले व्यापारीसँग मागेँ । रसिद रघुवीर महासेठलाई बुझाएँ । पछि थाहा भयो, २७ करोड जम्मा भएछ ।’

स्थापितले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि कटाक्ष गरेका छन्, ‘मुख्यमन्त्री भएर एउटा वडाको वडाध्यक्ष जस्तो भूमिका गर्ने । डेढवर्षपछि केशव स्थापित मुख्यमन्त्री हुने र डोरमणिले भजनकीर्तनमा समय बिताउने भन्ने सहमति भएको थियो, एकवर्षमै षड्यन्त्र गरेर मलाई निकाले । प्रधानमन्त्री केपी ओलीलाई पनि निकालेपछि जानकारी दिए । प्रधानमन्त्रीलाई सुनाएछन्, ‘म केशवसँग कामै गर्न सक्दिनँ, मलाई झण्डै मारेको केशवले ।’