फुटको संघारमा नेकपा एमाले: नेपाल पक्षले गर्दैछ यस्तो तयारी - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

फुटको संघारमा नेकपा एमाले: नेपाल पक्षले गर्दैछ यस्तो तयारी



काठमाडौं- नेपाली राजनीति अहिले तरंगित छ । एकातिर सर्वोच्च अदालतले नेकपा खारेज गरेर दुई दललाई पूर्वबाट अवस्थामा फर्काएको छ भने नेकपा एमालेमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहविरुद्ध फायत खोलेका छन् ।

सर्वोच्चको फैसलाले २३ फागुनमा ब्युँतिएको नेकपा एमाले हप्ता दिनभित्रै गम्भीर मोडमा पुगेको छ । जानकारहरूका अनुसार एमाले फुटको संघारमै पुगेको छ । ओलीले संगठनसम्बन्धी कठोर निर्णय लिएपछि एमाले फुटको संघारमा पुगेको अनुमान पनि बढ्न थालेको छ ।

ओलीले अध्यक्षका हैसियतले विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेका छन् । उनले स्थायी कमिटी पनि खारेज गरी महाधिवेशन आयोजक कमिटि गठन गरेका छन् । प्रदेश इञ्चार्जहरु पनि फेरबदल गरी पूर्व माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

ओलीको यो कदमसँगै माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहेनन् । उपाध्यक्ष बामदेव गौतमको पद पनि गएको छ । अब नेपाल, खनाल र गौतमले गम्भीर कदम चाल्न सक्ने बुझिएको छ । उनीहरु एमालेमै समानान्तर कमिटी बनाएर देशभर संगठन बनाउने तरखरमा छन् । अर्कातिर माओवादीका अध्यक्ष प्रचण्डले गरेको पार्टीको नाम परिवर्तन गर्ने तयारीलाई समेत माधव नेपाल समूहसँग जोडेर हेर्न थालिएको छ ।

ओलीको कठोर कदमसँगै नेपाल समूहले आकस्मिक बैठक डाकेर रणनीति बनाउँदै छन् । एमालेमै रहेर संघर्ष गर्ने भनी निर्णय गरेको नेपाल समूहले ओलीको कदमको विरोध गरिसकेको छ । यसलाई विधान विपरित भनेपनि ओलीले भने माधव नेपाल र झलनाथ खनाललाई एमालेबाट निस्काशन जस्तैको अवस्थामा पुर्याएका छन् ।

अब माधव नेपाल पक्षधरले एमालेभित्र राजनीतिक सुनामी नै ल्याउने गरी रणनीति बनाउँदैछ । ओलीलाई ठुलै धक्का दिने गरी नेपालले तयारी गरिसकेको बुझिएको छ । सांसदहरुले आवश्यक परे राजीनामा गरेर अगाडि बढ्ने सम्मको तयारी भएको स्रोतले जनाएको छ ।

यससंगै एमाले फुटको दिशामा गएको आंकलन गर्न सकिन्छ । ओली प्रवृत्तिलाई उखेलेर फाल्नेगरी केहि ठुलै तयारी नेपाल समुहले गरेको नेताहरूले बताएका छन् ।

उता माओवादी केन्द्रको बैठकमा समेत एमालेको पछिल्लो घटनाक्रम र अब कसरी अगाडी बढ्ने भन्ने बिषयमा छलफल हुने भएको छ । माओवादीको स्थायी कमिटिको बैठक चल्दैगर्दा शनिबार एमालेका नेता भिम रावल समेत उपस्थित हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।