विभाजनको डिलबाट एकतातिर फर्कँदै एमाले
काठमाडौँ- विभाजनको डिलमा पुगेको नेपाल कम्युनिस्ट पार्टी एमालेभित्रको विवाद जटिलताबाट समाधानतिर फर्किएको देखिएको छ । दोर्सो तहका नेताहरूले गरिरहेको अथक प्रयासले धेरै कुरामा सहमति भैसकेको र केहि कुराहरू थप छलफलमा लैजाने सम्म पुर्याएका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल एकले अर्कालाई देख्ने नसक्ने अवस्था पुग्दापनि दोस्रो तहका नेताहरुले रातदिन पार्टी मिलाउन लागिरहेका छन् । स्रोतका अनुसार बिहीबार साँझ साढे सात बजे ललितपुरको होटल समिटमा भएको करिव ३ घण्टा लामो छलफल सकारात्मक भएको छ ।
विहिबार साँझ विवाद समाधान गर्नको निम्ती गठन गरिएको एमाले कार्यदलको बैठक बसेसँगै एमाले कार्यकर्ताहरु उत्साहित भएका छन् । अनौपचारिक रुपमा भएको छलफलमा दुवैतर्फका नेताहरु अब पुनः शीर्ष नेतासँग बसेर अर्को पटक छलफलमा बस्ने सहमति भएको थियो ।
नेताहरुबीच सहमतिका विभिन्न मोडलहरुबारे समेत कुराकानी भएको छ । खासगरी जेठ २ अघिको अवस्थामा फर्केर पार्टी एकता बचाउने विषयमा विवाद नरहेपनि त्यसमा राखिएका केही शर्तहरुका बारेमा कुरा मिल्न बाँकी रहेको बुझिएको छ ।
जेठ २ गते पहिलेको अवस्था फर्किनका लागि पछि थपिएका नेताहरूको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा कुरा अड्किएको बुझिएको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले जेठ ३ अघिको अवस्थामा फर्कन माधव पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका थिए भने अहिले त्यो मुद्दामा पनि सर्वोच्चबाट आउने फैसलाअनुसार अगाडी बढ्ने सहमति भएको बुझिएको छ ।
माधव पक्षका नेताहरुले प्रतिनिधि सभा विघटन गल्ती भन्दै प्रधानमन्त्री ओलीले स्वीकार गर्नुपर्ने भन्दै अडान लिएपछि हस्ताक्षर फिर्ताको शर्तबाट पछि हटेको बताइएको छ । गठन भएको लामो समयसम्म पनि कामविहिन जस्तै बनेको नेकपा एमालेको कार्यदलको बैठक फेरी बसेको छ ।
जेठको पहिलो साता केही बैठक बसेको भएपनि राजनैतिक उथलपुथलको कारण कार्यदल बैठक बस्न सकेको थिएन । विहिबार बैठक बसेसँगै कार्यदलको बैठकले निरन्तरता पाउने देखिएको छ ।
नेता योगेश भट्टराई,घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, सुबास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरुले लामो समयदेखि अनौपचारिक रुपमा वार्ता गरिरहेका थिए । पछिल्लो समय जेठ २ को कमिटिमा फर्कन एमालेका दुवै पक्षका नेताहरु लचक भएको बताइएको छ ।