एमालेले एक लाख कार्यकर्ता काठमाडौंमा उतार्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

एमालेले एक लाख कार्यकर्ता काठमाडौंमा उतार्ने



काठमाडौं- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुलपानीमा एक लाख जनता उतार्ने बताएका छन्।

काठमाडौं बानेश्वर स्थित अर्याल होटलमा आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष राईले नेकपा एमाले काठमाडौं जिल्लाको छैटौ अधिवेशनमा काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट १ लाख जनता सहभागी हुने दावी गरेका छन्।

काठमाडौं जिल्लाका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ११ नगर र १३८ वटा वडाहरुबाट नेकपा एमालेलाई माया गर्ने काठमाडौंवासीहरुको सहभागिता रहने जानकारी दिँदै अध्यक्ष राईले वर्तमान सरकार पाँच दलीय गठबन्धन नभई अदालतसहित ६ दलीय गठनबन्धन रहेको भन्दै कटाक्ष समेत गरेका थिए।

नेकपा एमालेमा काठमाडौं जिल्लाका कुनै पनि राजनीतिक दलसंग खुल्ला सभा गर्न सक्ने सामर्थ्य नदेखिएको भन्दै राईले काठमाडौं जिल्लाका ११ नगर र १३८ वटा वडाहरुमा पौष २० गते जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी पनि दिएका थिए।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरु नारायण सिलवाल, केशव स्थापित, रुपनारायण श्रेष्ठ, विद्यासुन्दर शाक्य, बिना श्रेष्ठ, सरिता न्यौपाने, शान्ति अधिकारीलगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको थियो।