एमाले छाडेर गाउँपालिका अध्यक्ष र वडाका अध्यक्षहरू माओवादीमा प्रवेश
डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । यस्तै जिल्लाका सबै वडाका अध्यक्षहरू पनि एमाले छाडेर माओवादीमा प्रवेश गरेका छन् ।
माओवादी प्रवेश गरेका गुरुङलगायतका नेतालाई स्वागत गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथमा अर्थमन्त्री जनार्दन शर्मा पनि डोल्पा पुगेका थिए ।
२०७४ को स्थानीय तहको चुनावमा स्वतन्त्ररुपमा पालिका अध्यक्ष निर्वाचित भएका गुरुङ् निर्वाचनपछि एमाले प्रवेश गरेका थिए । गुरुङ र अन्य नेतालाई प्रचण्ड र मन्त्री शर्माले खादा ओढाएर स्वागत गरे ।
पार्टी प्रवेशपछि गाउँपालिका अध्यक्ष गुरुङले प्रचण्डहरु आफ्नो पालिकाको विकासका योजनाहरु लिएर आएकाले माओेवादी प्रवेश गरेको बताए । आफूहरुका लागि जसले विकास गरिदिन्छ त्यसलाई राजा मान्ने गुरुङको भनाइ थियो ।
डोल्पो बुद्ध गाउँपालिकाकाको सबै वडा अध्यक्ष पनि माओवादी प्रवेश गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । यो पालिकामा ६ वटा वडा रहेका छन् ।