एमालेको बटमलाईन: सभामुखको बहिर्गमन - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

एमालेको बटमलाईन: सभामुखको बहिर्गमन



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयपछि भएको तीन नेताबीचको छलफलमा नेकपा एमालेले आफ्नो बटमलाईन सुनाएको छ । एमालेका तफबाट अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका १४ सांसदलाई नहटाए सभामुखले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडसँगको छलफलमा सभामुखले निर्णय सच्याउनुपर्ने नभए मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेको एमालेका महासचिव शंकर पोखरेलले उनले बताए । छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र पोखरेल सहभागी थिए ।

“दलले कारबाही गरेकालाई राखेर संसद् चलाउने कुरामा हाम्रो असहमति छ , त्यो चिज नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ,” उनले भने ।

पोखरेलले थपे, ‘प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउनुपर्छ भन्ने थियो, प्रचण्डको धारणा पनि प्रतिपक्षले संसद खोलोस् र चुनावपछि मात्रै एमसीसीबारे विचार गर्ने कुरा प्रतिपक्षसहित प्रस्ताव गरौं भन्ने कुरा राख्नुभयो ।’

एमसीसीबारे अध्यक्ष ओलीले बैठकमा राखेको भनाइबारे पोखरेलले भने, ‘सरकारले आफ्नो धारणा स्पष्ट बनाएपछि राष्ट्रिय मामिलामा कुनै पनि विषयमा अनिर्णित हुँदैनौं । सत्ता पक्ष पनि अनिर्णित भएर बस्नु हुँदैन भन्ने कुरा राखेका छौं ।’

सदनमा प्रतिपक्षीको उपस्थिति गराउन सत्ता पक्षले पहल गर्नुपर्ने उनको भनाइ थियो । एमालेले माधव नेपालसहित १४ जनालाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै सदन अवरोध गर्दै आएको छ ।