कार्यदलको प्रस्ताव ओलीले मानेनन्: एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटि बैठक आज बोलाएका छन् । स्थायी कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्दैछ ।
आज बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने बताइएको छ । बैठकमा माधव नेपाल समूहलाई पनि निम्ता दिइएको छ। नेपाल समुहले भने १० बुँदेमै सहमति भैनसकेको भन्दै सहभागी नहुने जनाएको छ ।
एमाले विवाद समाधानका लागि गठन गरिएको र १० बुँदे पछि भंग गरिएको कार्यदलका सदस्यहरूले पहिले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल गरेर सहमतिमा बैठक बोलाउन आग्रह गरेका छन् ।
हिंजो शनिबार मात्रै कार्यदलका नेताहरू सिंहदरबारमा छलफल गरेर त्यहि साँझ ओली निवास बालकोटमै पुगेर बैठक रोक्न प्रस्ताव गरेका थिए । तर उनीहरूको प्रस्ताव ओलीले अस्विकार गरेको स्रोतले बताएको छ। ओलेले सधै कसैलाई कुरेर बस्न नसकिने बताउँदै बैठक नरोकिने बताएका थिए ।