एमाले बैठक सकियो: कार्यदल विघटन, देउवालाई विश्वासको मत नदिने - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

एमाले बैठक सकियो: कार्यदल विघटन, देउवालाई विश्वासको मत नदिने



काठमाडौं- नेकपा (एमाले)ले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता विना स्थायी कमिटी बैठक बसेको थियो।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यदल पनि विघटन गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। एमाले विवाद सुल्झाउन २ जेठमा कार्यदल गठन गरिएको थियो।

कार्यदलले १० बुँदे सहमतिको मस्यौदा तयार गरेको थियो। कार्यदलको प्रस्तावलाई एमाले स्थायी कमिटी बैठकले अनुमोदन पनि गरेको प्रवक्ता ज्ञवालीले बताए।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले भने, “कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने निर्णय गरेका छौँ। कार्यदलले राम्रो काम गरेको र कार्यदलको सुझावलाई पार्टीले लिनेछ र कार्यदल विघटन गर्ने निर्णय पनि गरेका हौं।”

कार्यदलमा नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त थिए। त्यस्तै, ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए।

आजको एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेता भने सहभागी भएनन्। दुवै पक्षको सहमति जुटाउन आजको बैठक स्थगित गर्न माग गर्दै नेपाल पक्षको टोली च्यासल पुगेको थियो।

तर, अध्यक्ष ओलीले बैठक स्थगित गर्न अस्वीकार गरेका थिए। त्यसपछि नेपाल पक्षको टोली बैठक स्थलबाट बाहिरिएको थियो।