'सरकार हुँदा काण्डमात्रै, पछि गफमात्रै गर्ने पार्टीको नाम एमाले हो' - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

‘सरकार हुँदा काण्डमात्रै, पछि गफमात्रै गर्ने पार्टीको नाम एमाले हो’



काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपील सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको चर्को आलोचना गरेका थिए।

ओलीले कांग्रेसमाथि थुप्रै प्रश्न उठाउँदै स्थानीय तहको निर्वाचनका लागि मतदातालाई अपील गरेपछि सोमबार नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर काउन्टर जवाफ दिएका छन्।

‘कोभिडको बेलामा कसको नेतृत्वको सरकारले के गर्‍यो सबैलाई थाहा छ। ओली नेतृत्वको सरकारको बेलामा रोजगारी गुमेको थियो। खोप कसले सुनिश्चित गर्‍यो। उहाँहरु त कमिसन कसले बढी दिन्छ भन्ने तर्फ लाग्नुभयो,’ उनले भने, ‘उहाँका पालामा भएको काण्डको नाम लिएर साध्य छैन। ओम्नीदेखि सुन काण्ड र अन्तिममा आएर संसद् विघटन काण्ड पनि भयो।’

उनले ओली नेतृत्वको सरकारको पालामा ३३ किलो सुन, सिण्डिकेट, निर्माण व्यवसायी धरपकड वाइडबडी, गोकर्ण, यती, गुठी विधेयक काण्डलगायतका काम गरेको बताए। ‘अरु कति काण्ड भए भए तर, अहिले आएर अनेक कुरा गरिरहनुभएको छ,’ उनले भने, ‘ठूलाठूला गफ दिने काम मात्रै भएको छ। उहाँले त संविधान र कानुनको धज्जी उडाउने काम गर्नुभयो।’

आफूहरुले विश्लेषण र प्रष्ट आधारसहित ओलीले झुट बोलेको कुरा भनिरहेको भन्दै कांग्रेसले सत्ताको नेतृत्व गरेको विषयमा पनि प्रष्ट कुरा नगरेको बताए। ‘लोडसेडिङ अन्त्य गरे भनेर उहाँले भन्नुभयो तर, त्यो त म उर्जामन्त्री भएको बेला भएको हो,’ उनले भने, ‘ओली जीले गफ दिने काम मात्रै गर्नुभयो। झुटो आरोप लगाउने काम गर्नुभएको छ।’