निर्वाचनका लागि देशभर आन्दोलन गर्ने एमालेको निर्णय
काठमाडौँ- सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके देशभर आन्दोलन गर्ने एमालेले निर्णय गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले देहाभर दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बुधवार बसेको भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति नतोके देशभर दबाबमूलक कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
त्यसै गरी एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–१ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
सचिवालय बैठकले एमालेको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले बैठकपछि जानकारी दिए ।
एमालेले पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ नियुक्त गर्ने निर्णय पनि गरेको छ । चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको गुरूङले जानकारी दिए ।