स्थानीय तहको नतिजा : कांग्रेस पहिलो, एमाले धेरै पछाडी, माओवादी मालामाल - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

स्थानीय तहको नतिजा : कांग्रेस पहिलो, एमाले धेरै पछाडी, माओवादी मालामाल



स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

चार सय ४ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा कांग्रेस सबैभन्दा धेरै पालिका जित्दै अग्र स्थानमा छ। कांग्रेसले अहिलेसम्म १८२ स्थानीय तहको प्रमुख जितेको छ भने १ सय २९ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनबाट दोस्रो स्थानमा पुग्ने निश्चित भएको छ।

एमालेले अहिलेसम्म ११८ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका ८६ पालिकामा एमालेले अग्रता कायम राखेको छ।

माओवादी केन्द्रले अहिलेसम्म ८२ स्थानीय तहको प्रमुख जितेको छ। ३९ पालिकामा उसले अग्रता कायम राखेको छ। अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था केही सुधार गर्ने देखिन्छ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म ६ स्थानीय तहको प्रमुख जितेको छ। १४ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ।

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म पाँच स्थानीय तहको प्रमुख जितेको छ भने २९ स्थानीय तहमा अग्रता कायम गरेको छ।

त्यसैगरी बुधबार बिहानसम्म सार्वजनिक परिणाम अनुसार देशभरमा पाँच स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिका र महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार अघि छन्।

राष्ट्रिय जनमोर्चाले अहिलेसम्म तीन स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दीबार गाउँपालिकाको प्रमुख जितेको छ। नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा जित हासिल गरेको छ।