पार्टी र सचिवालयमा एक्लिए विष्णु पौडेल - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

पार्टी र सचिवालयमा एक्लिए विष्णु पौडेल



काठमाडौं- प्रदेश ५ को राजधानीको विषयले यतिबेला देशभरको राजनीतिक माहोल तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा प्रदेश राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव भएपछि माहोल तातेको हो ।

प्रदेश ५ स्थित नेकपा संसदीय दलले दाङको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप नै जारी गरेको छ। अहिले प्रदेश ५ को अस्थायी राजधानी हो बुटवल। त्यहाँबाट प्रदेश राजधानी दाङ सार्ने प्रस्ताव भएसँगै फेरि विरोधको स्वर चर्किएको छ।

सडकमा प्रदर्शन भइरहेको छ भने अध्यक्षद्वयबीच प्रदेश राजधानी दाङ सार्न सहमति बनेपनि प्रधानमन्त्रीकै विश्वासपात्र पार्टीका महासचिव विष्णु पौडेल असन्तुष्ट बनेका छन्।

पौडेलले गत निर्वाचनमा बुटवलमा राजधानी राख्‍ने पक्षमा आफूलाई उभ्याएका थिए। बुटवल राजधानी राख्‍ने कुरामा कांग्रेससहितका दल नमानेको भन्दै उनले नेकपालाई भोट दिन भनेका थिए।

पौडेलले चुनावको एजेण्डा नै प्रदेश राजधानी बुटवललाई नै बनाउने बोकेका थिए । चुनावी प्रतिवद्धता अनुसार बुटवललाई प्रदेश राजधानी राख्‍ने अडानमा महासचिव पौडेल कायमै रहेका छन् भने पार्टीको सचिवालयमा भने दाङ बनाउने विषयमा बहुमत जुटेको छ ।

स्रोतका अनुसार पौडेलको चुनावी प्रतिवद्धता अनुसार अडान फेरिएको छैन। अहिले पनि पौडेलले बुटवल नै राजधानी हुनुपर्ने भन्दै प्रधानमन्त्री र पार्टी अध्यक्षद्वयलाई निर्णय सच्याउन आग्रह समेत गरेको स्रोत बताउँछ ।

अध्यक्षद्वय नै दाङको पक्षमा उभिएपछि महासचिव पौडेल पार्टी सचिवालयमा पनि एक्लो भएका छन्। अध्यक्षद्वयबीच दाङकै लागि सहमति बनिसकेको छ । सचिवालयमा पनि पौडेल एक्लै परेको र बुटवल नै राजधानी हुनुपर्ने अडानमा पौडेल छन् ।

पौडेलको एजेन्डा अनुसार बुटवल राजधानी नहुने हो भने उनी निर्वाचन क्षेत्रमा पनि ठुलो क्षति व्यहोर्नुपर्ने निश्चित छ ।

पार्टीको सहमति बनिसके पनि राजधानी तोक्ने मुख्य जिम्मेवारी प्रदेशसभाको हातमा हुन्छ। प्रदेश ५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलको प्रस्तावमा अध्यक्षद्वय प्रदेश राजधानी दाङमा राख्‍न सहमत भएका थिए।

दाङ मुख्यमन्त्री पोखरेलको गृहजिल्ला पनि हो। महासचिव पौडेल र मुख्यमन्त्री पोखरेल दुवै जना प्रधानमन्त्री ओलीनिकट नेता हुन्। प्रदेश राजधानीको हकमा पार्टीमा शक्तिशाली पौडेललाई मुख्यमन्त्री पोखरेलले पछारेका छन्।

प्रदेश ५ को राजधानी दाङ कायम गर्न नेकपा प्रदेश संसदीय दलको बैठकले आन्तरिक परिपत्र जारी गरिसकेको छ। राजधानी दाङको देउखुरी सार्ने प्रस्तावको विरोधमा आइतबार पनि बुटवल प्रदर्शन भएको छ।

नेपाली कांग्रेस र रुपन्देहीका विभिन्‍न संघसंस्थाहरूले बिहानैदेखि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। अस्थायी राजधानी बुटवलबाट देउखुरी सार्ने प्रस्ताव प्रदेशसभामा अघि बढेपछि प्रदर्शन सुरु भएको हो।

प्रदर्शन नियन्त्रणबाहिर जान नदिन रुपन्देही प्रशासनले गरेको निषेधाज्ञा जारी गरेको छ।