एक्लिए माधव नेपाल, ओली-प्रचण्डको कब्जामा नेकपा - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

एक्लिए माधव नेपाल, ओली-प्रचण्डको कब्जामा नेकपा



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी भित्र पछिल्लो सयम तीन खेमा देखिँदै आएका छन् । एक प्रधानमन्‍त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्को नेकपाकै अर्का अध्यक्ष पुष्पकमद दाहाल र अर्को नेकपाका प्रभावशाली नेता माधव कुमार नेपाल गरी तीन खेमा देखिँदै आएको छ ।

ओली र प्रचण्डबीच नेकपा भित्र भागबन्डा हुँदा नेपालले पनि भाग खोज्‍ने गरेका छन् । तर, पछिल्‍लो समय ओली र प्रचण्डबीच भागबन्डा हुँदा नेपाललाई एक्ल्याइने गरिएको छ ।

नेकपालेले सात प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्न सात जनाको नाम सिफारिस गर्‍यो । सात प्रदेशका प्रमुख छान्दा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच भागबन्डा भयो । ओली पक्षका चार जना प्रदेश प्रमुखमा सिफारिस भए भने प्रचण्ड पक्षका तीन नेता प्रदेश प्रमुखका लागि छानिए ।

तर, नेता नेपाल पक्षबाट भने कोही पनि सिफारिसमा परेनन् । यसले नेकपाले नेपाल पक्षलाई पाखा लगाउँदै गरेको प्रस्ट भएको छ ।

केही महिना यता ओलीसँग निकै सम्बन्ध बिग्रिएका नेता नेपाललाई ओलीले पछिल्लो समय रुचाउन छोडेका छन् । नेपालसँग रुष्ट भएकै कारण ओलीले एक्ल्याउन खोजेको नेपाल पक्षको बुझाइ छ ।

नेकपाले प्रदेश प्रमुखका लागि चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवको नाम सिफारिस गरेको छ ।

नेता नेपालको ‘नोट अफ डिसेन्ट’

प्रदेश प्रमुख सिफारिस एकलौटी र पूर्वाग्रहप्रेरित भएको भन्दै नेता नेपालले लिखित असहमति नै जनाएका छन् ।

नेता नेपाल नेकपामा चौथो वरीयतामा पर्छन् । ओली, प्रचण्ड र झलनाथ खनालपछि नेपालको वरीयता आउँछ । उनले बेला बेला पार्टीका निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

नेता नेपालले बैठकका निर्णयप्रति लिखित असहमति राखेको यो तेस्रो पटक हो । यसअघि पार्टीको प्रदेश इन्चार्ज तोक्ने गत साउन ३१ गतेको निर्णयका विरुद्ध पनि नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।