एकताको नयाँ साइत मे १ वा ५ तारिख
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा कुनै जटिल समस्या नरहेको स्पष्ट पारेका छन् । उनले बैशाख १४ गते बैठक बसेर पार्टी एकताको मिति तोक्ने बताए ।
मंगलवार भरतपुर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष दाहालले दुवै पार्टीको अध्यक्ष बसेर मिति तोक्ने सहमति भएको बताए । पार्टी एकताको घोषणाका लागी मिति तोक्ने विषयमा छलफल भएको जानकारी गराए ।
‘त्यस्तो जटिल केही होइन, १४ गते मिति तोक्ने गरी समझदारीमा छौँ’ दाहालले भने, ‘मे १ वा मे ५ भित्रमा एकता होस भन्ने कोशिश छ ।’
दाहालले पर्याप्त समय निकाल्न नसक्दा एकताको मिति सरेको बताएका छन । आप्नो र प्रधानमन्त्री ओलीको ब्यस्तताले एकताको घोषणामा ढिलाइ भएको उनले बताए ।
पार्टी एकताका लागि समय छुट्याउन नसकेको पनि उनले उल्लेख गरे । ‘दुई अध्यक्षले पर्याप्त समय निकाल्ने हो भने टुङ्गिने तिर जान्थ्यो’, दाहालले भने ‘दुईचार दिन ढिलो होस भन्नेतिर हाम्रो ध्यान केन्द्रित छ ’ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको प्रसङ्गमा दाहालले नेपाल–भारत सम्बन्ध सुध्रिँदै गएको बताए । ‘मोदीजीको भ्रमणले दुई देशबीचको सम्बन्धमा राम्रो सुधारको परिस्थिति बनेको छ,’ दाहालले भने । अन्नपूर्ण पोस्टबाट ।