आजपनि रोकियो एमाले एकता घोषणा: तत्काल नहुने संकेत - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

आजपनि रोकियो एमाले एकता घोषणा: तत्काल नहुने संकेत



काठमाडौं- नेकपा एमालेको एकता घोषणा आज नहुने भएको छ । लामो छलफल र लगातारको संघर्षबाट सहमतिमा पुगेका दुवै समुहले आज गर्ने भनिएको एकता घोषणा तत्काल नहुने भएको हो । एकातिर अदालतको फैसला प्रभावित हुने र अर्कातिर पार्टीको तल्लो तहसम्म छलफल नगरिएकाले तत्काल सहमति नहुने भएको हो ।

अदालतको फैसला प्रभावित गर्नकै लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समुहले तत्कालै सहमति गर्नुपर्ने दावाव बढाएको छ भने वरिष्ठ नेता नेपाल समुहमा केन्द्रीय कमिटीमा मस्यौदाबारे छलफल नभएको र फैसला प्रभावित हुने भएकाले आज नै सहमति गर्न नसक्ने स्रोतले जनाएको छ ।

माधव नेपाल समूहको शनिबार बेलुका बसेको भर्चुअल बैठकमा पनि अदालतको फैसलामा प्रभाव पार्ने विषयमा आजै सम्झौता गर्न नहुने सुझाव जोड्तोड़ले उठेको थियो । उनीहरूले सत्तापक्षले अदालतलाई प्रभावित पार्नकै लागि मरिहत्ते गरेको समेत त्यहाँ छलफल भएको थियो । कार्यदलका नेताहरु आइतबार बिहान सिंहदरबारमा जानुअघि पनि नेता नेपालनिवासमा छलफलमा जुटेका थिए ।

माधव नेपाल समुहका नेताहरूले केहि कुरा मिलाउन बाँकी छ भनिरहेकै बेला ओली समुहले भने तत्कालै सहमति गरिहालौँ भन्दै पेलिरहेका छन् । मिडियामा पनि ओली समुहले सबै सकिएको हस्ताक्षर मात्रै बाँकी रहेको भन्न थालेपछि नेपाल समूह थप सशंकित बनेका छन् । एक नेताका अनुसार अदालतको फैसलाअघि नै सम्झौता गर्ने अवस्था नरहेको सुझाव शुक्रबार पनि नेताहरुले दिएको जानकारी दिए ।

कार्यदलले तयार पारेको मस्यौदामा पनि माधव नेपालले आपत्ति जनाएका छन् । मस्यौदामा बहेका कतिपय भाषा र शब्दावली अदालतको फैसला प्रभावित पार्नेखालको भएको उनको निष्कर्ष छ ।

प्रतिनिधि सभा विघटन सम्बन्धी फैसला सोमबार आउने भएकाले त्यसअघि नै नेकपा एमाले एकढिक्का रहेको सन्देश दिन चाहेको नेताहरुको धारणा छ ।

उता प्रधानमन्त्री ओलीले भने सर्वोच्च अदालतको फैसला आउनु अगाडी नै पार्टी एकता नभएको खण्डमा नेताहरूलाई कारबाही गर्ने निकट नेताहरूलाई बताउने गरेका छन् ।