ओली र प्रचण्डले आज के सम्बोधन गर्दैछन् ? - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

ओली र प्रचण्डले आज के सम्बोधन गर्दैछन् ?



काठमाडौं- सत्ता सांझेदार दुई दल नेकपा एमाले र माओवादी केन्द्रविच एकता प्रक्रियामा गतिरोध आएपछि आज एकता घोषणा गर्ने कार्यक्रम स्थगित गरिएको छ ।एकता घोषणा स्थगित भएपनि दुवै पार्टीका अध्यक्षले सम्बोधन भने संयुक्त रुपमा गर्ने छन ।

एउटै कम्युनिस्ट पार्टी बनाउन पछिल्लो समय तीव्र छलफल बढाइरहेका एमाले अध्यक्ष एवं वं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताप्रति प्रतिबद्धता व्यक्त गर्ने भएका छन्।

पार्टी एकतामा विवाद कायम रहिरहँदा एकताबारेका आशंका मेटाउनेगरी कम्युनिस्ट एकता दिवसका अवसरमा आज दिउँसो आयोजना हुने कार्यक्रममा दुई शीर्ष नेताले साझा प्रतिबद्धता जनाउँदै छन्।

एमाले र माओवादी केन्द्रको संयुक्त आयोजनामा दिउँसो करिब १ बजे राष्ट्रिय सभागृहमा राखिएको कार्यक्रममा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको दाहालका स्वकिय सचिव जोखबहादुर महराले जानकारी दिए।

पार्टी एकताका लागि दुवै शीर्ष नेताबीच केही दिनयता निरन्तर छलफल चलिरहे पनि विवादित विषयको गाँठो फुक्न सकेको छैन। कार्यदलले पार्टी एकता संयोजन समितिलाई विवादित केही विषय बाहेक अन्यलाई समाधान गर्दै बुझाएको प्रतिवेदनमा दुई नेताबीच केही दिनयता छलफल भइरहेको छ।

दाहालले पार्टी एकतापछि हुने महाधिवेशनबाट आफूले नेतृत्व पाउने सुनिश्चितता हुनुपर्ने माग गरिरहँदा ओलीले भने महाधिवेशनले सबैलाई चित्त बुझाउने व्यक्ति नेतृत्वमा आउने बाटो खुला राख्नुपर्ने धारणा राख्दै आएका छन्।