नेकपा एकता : भोलि घोषणा गर्ने यस्तो छ तयारी
काठमाडाैं- ३ महिनामा एकता प्रकृया सक्नेगरी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएकाे पार्टी एकीकरण प्रकृयाले ११ महिनापछि मात्रै मुर्तरुप पाउने भएकाे छ।
लामाे समयदेखि अल्झिएकाे एकता प्रकृया टुंग्याउन नेकपाका शीर्ष नेताहरु पछिल्लाे तीन दिनदेखि छलफलमा जुटेका थिए। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार आज पुन: शीर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पाैडेल छलफलमा जुट्ने र एकीकरण प्रकृयालाई अन्तिम रुप दिनेछन्।
एकीकरण प्रक्रियामा आफूलाई कम आँकलन गरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट थिए। उनीसँगको छलफलपछि एकीकरण टुंगोमा पुग्न लागेको हो। शुक्रबार र शनिबार दुई अध्यक्षसहित नेपाल र पाैडेलले एकीकरणका सम्बन्धमा छलफल गरी एकता प्रकृयालाई टुंग्याउने सैद्धान्तिक सहमति गरेका थिए।
कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन पारि बैसाख ९ अर्थात साेमबार एकता प्रक्रिया टुंग्याउने तयारी भएकाे नेता रिजालले जानकारी दिए।
नेताहरुबीच सहमति नजुट्दा जिल्लासहितका तल्लाे तह तथा जनवर्गीय संगठनहरुको एकता पछिल्लाे ११ महिनादेखि अल्झिरहेको थियो। आफू विदेश भ्रमणमा रहेका बेला प्रदेश नेतृत्व र प्रदेश कमिटीकाे एकता प्रकृयालाई टुंग्याइएकाे भन्दै नेपाल पक्ष सन्तुष्ट थिएन।
चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएकाे छ। आइतबार बिहान ९ बजे पुनः ४ शीर्ष नेताहरुबीच छलफल हुने र एकताकाे प्रस्तावलाई अन्तिम रूप दिइने बताइएकाे छ।
यसअघि अध्यक्षद्वयबीच एकताका सम्बन्धमा सहमति जुटेपनि नेता नेपाल सहमतिमा आएका थिएनन्। नेपाल साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई अध्यक्ष र सचिव बनाउनुपर्ने अडानमा छन्। जनप्रतिनिधिमा निर्वाचित र राजकीय मामिलामा रहेकालाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई आधार मानेर वरिष्ठताको मापदण्डअनुसार एकता टुंग्याउनुपर्ने उनको भनाइ छ। पछिल्ला छलफलपछि भने अध्यक्ष ओली सबै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई पनि सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेका छन्।
केन्द्रीय सदस्य रिजालका अनुसार एकताकाे मापदण्डमा आइतबार सैद्धान्तिक सहमतिमा पुग्ने तथा तल्लाे तहका प्रमुख पदमा नामसहितकाे प्रस्तावलाई आइतबार मुर्त रुप दिई अध्यक्षद्वयले केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन्।
अन्तिम गृहकार्यका लागि सिन्धुपाल्चोकको सुकुटेबाट फर्किएलगत्तै बालुवाटार पुगेर अध्यक्ष प्रचण्ड छलफलमा सहभागी भएका थिए। यसअघि पनि केही ठूला निर्णय लिनुअघि सुकुटे जाने गरेका प्रचण्डकाे यसपटककाे सुकुटे भ्रमणलाई लिएर पनि केही अड्कलबाजी भएका थिए।