के प्रचण्डकै कारण भाँडिएको हो एमालेको सहमति ?
काठमाडौं- लामो संघर्षले शनिबार घोषणा गर्ने भनि तयार पारेको नेकपा एमालेको सहमति भाँडिएको छ । आज हुने सहमति भोलि बिहानका लागि भाका सारिएको छ । फुटको विन्दुमा पुगेर फर्किएको एमालेका लागि शनिबार कार्यदलको बैठक अगाडीको समय तनावपूर्ण नै बनेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्वाभाविक दौडधुपकै कारण हुनै लागेको एकताबाट एमाले ‘ब्याक’ हुने अवस्था आएको थियो । तर नेताहरूको प्रयासले भोलीसम्म सबै ठिक हुने भएको छ ।
सिंहदरबारमा एकता जोगाउने भन्दै सक्रिय बनाइएको एकता कार्यदलको निर्णायक ठानिएको बैठक शनिबार दिउँसो बस्दै थियो। बैठकमा दुवै तर्फका नेताहरूको उपस्थिति हुँदै थियो । त्यसै क्रममा एमाले ओली समुहका नेताहरूले माधव नेपालले विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग गरेको गोप्य भेटको कुरा जोडतोडले निकाले ।
कोटेश्वरमा एमाले वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भेटले एमालेमा मात्र होइन समग्र राजनीतिमै तरङ्ग ल्याएको थियो । शनिबार दिउँसो सिंहदरबारमा कार्यदलका सदस्यहरु आइपुग्दा माहोल अर्कै बनिसकेको थियो।
शुक्रबार नै कार्यदलका सदस्यहरुले सहमति जुटिसकेको र केही भाषागत विषय मात्र मिलाएर एकता घोषणा गरिने बताएका थिए । तर शनिबार निर्धारित समयभन्दा झन्डै ३ घण्टा पछि बसेको बैठकबाट पनि केहि परिणाम निस्कन सकेन । केहि नेताहरूले परिणाम ननिस्कनुको पछाडी प्रचण्ड-नेपालकै भेटलाई कारण बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलमा रहेका नेताहरुले प्रचण्ड-नेपाल भेटप्रति आपत्ति जनाएपछि औपचारिक बैठक नै बस्न सकेन। समस्या समाधानका लागि भनेर छलफलमा लगातार प्रयास गरिरहँदा नेता नेपालले विपक्षीसँग भेटघाट गरेर माहोल बिगार्ने भन्दै केही नेताले आक्रोश समेत पोखेका थिए ।
माहोल बिग्रन नदिने भन्दै सिंहदरबारबाट निस्केर नेपाल पक्षका नेताहरु कोटेश्वर पुगे। नेपाल निवासमा पुगेका नेताहरूले नेता नेपालसंग आक्रोश पोखे । वार्ता भाँड्न खोजेको आरोप लाग्ने भन्दै प्रचण्डसँगको भेटबारे सार्वजनिक गर्न दबाब दिएर नेताहरू सिंहदरबार फर्किए। त्यसपछि नेता नेपालको सचिवालयले स्पष्टिकरण निकाल्यो ।
सचिवालयमार्फत् आएको स्पष्टीकरणमा प्रचण्डले स्वास्थ्य लाभको कामना गरेको र त्यसबाहेक अन्य कुरा नभएको भनियो।
‘पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ’, नेपालका स्वकीय सचिव मोहन गौतमले लेखेका छन्, ‘आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु।’ प्रचण्डसँगको भेटबारे नेता नेपालको स्पष्टीकरण आयो।
प्रचण्ड-नेपाल भेटको कारणले बिग्रिएको माहोलमा शुक्रबार भनेजस्तै बैठक बन्न सकेन । उता प्रचण्ड-नेपालको भेटले प्रधानमन्त्री ओली पनि सशंकित बनेका थिए । उनले पनि सहमतिका लागि हतार नगर्न भन्दै राष्ट्रपति निवासमा हानिए । कार्यदलका नेताहरूले केहीबेर छलफल गरेर आइतबार बिहानै निर्णय सार्वजनिक गर्नेगरी बैठक सकाए ।
कार्यदलकै एक नेताका अनुसार प्रचण्ड-नेपालको भेटका कारण कार्यदलको सहमति शुक्रबारको समेत अवस्थामा नरहेको बताएका छन्। उनका अनुसार शनिबारको अवस्था प्रचण्डकै कारण आएको र भोली सहमति भंग भए त्यो पनि प्रचण्ड-नेपालकै कारण हुने बताए ।