अब एकल पुरुषले पनि भत्ता पाउने ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

अब एकल पुरुषले पनि भत्ता पाउने !



श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन्।

तर इलामको देउमाई नगरपालिकाका करिब २ सय यस्ता ‘भाग्यमानी पुरुष’ छन्, जसले एकल महिलासरह मासिक भत्ता पाउँछन्। यो खबर कान्तिपुरले छापेको छ।

श्रीमतीको मृत्युपछि अर्को विवाह नगर्ने जुनसुकै उमेरको पुरुषले भत्ता पाउनेछ तर विवाह नगरी बसेकाका हकमा ६० वर्ष उमेर पुग्नुपर्नेछ।

नगरसभाले नै पारित गरेर चालु आर्थिक वर्षदेखि यो निर्णय गरेपछि हरेक एकल पुरुषले महिनाको १ हजार रुपैयाँ पाउँछन् । यो वर्षका लागि नगरपालिकाले भत्ता वितरणका लागि छ लाख रुपैयाँ छुटयाएको छ।

‘एकल भएपछि पुरुषले पनि पाको हुँदै जाँदा हरेक समस्या झेल्नुपर्छ,’ नगर प्रमुख सूर्य पोख्रेलले भने, ‘नगरका कतिपय एकल पुरुषले गुनासो गरेपछि सामाजिक उत्तरदायित्वकै लागि यो निर्णय गरेका हौं।’

नयाँ कार्यक्रम भएकाले भत्ता पाउने कति छन् भन्ने संख्या संकलन कार्य भइरहेको छ । यो महिनाको अन्त्यसम्ममा संख्या एकिन हुने नगरपालिकाले जनायो । २ सय यस्ता पुरुष रहेको अनुमान छ । यो रकमले अपुग भए थप गरेर भए पनि नमुनाका रूपमा यो कार्यक्रमलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना छ।

एकल पुरुषले नगरले आफ्नो सम्मान गरेको बताएका छन् । आउँदो दसैंमा सामाजिक सुरक्षा भत्ता वितरण हुँदा एकल पुरुषले सँगै रकम प्राप्त गर्नेछन् । अघिल्लो आर्थिक वर्ष नगरपालिकाले कोखदेखि शोकसम्म शीर्षकमा कार्यक्रम ल्याएको थियो।