काठमाडौंमा एकैदिन १०२ जना संक्रमित थपिए: १६ जना सम्पर्कमै आएनन् - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

काठमाडौंमा एकैदिन १०२ जना संक्रमित थपिए: १६ जना सम्पर्कमै आएनन्



काठमाडौं- लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै गैरहेको छ । बुधबार मात्र काठमाडौं उपत्यकामा १ सय २ जना संक्रमित थपिएका छन् ।

इपिडिमियोलोाजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबार साँझसम्म १ सय २ संक्रमित एकैदिनमा थपिएका हुन् । उपत्यकामा यति धेरै संक्रमित थपिएको यो पहिलो घटना हो ।

इपिडिमियोलोाजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये धेरै बाहिरी जिल्लाबाट आएका, उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका र कतिपय अस्पतालकै कर्मचारीमा समेत संक्रमण देखिएको छ।

लकडाउन अन्त्य भएसँगै उपत्यकाका मुख्य तीन नाका नागढुङगा, फर्पिङ र साँगा सहित अन्य चोर नाकाबाट आउने मानिसको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि उकालो लाग्न थालेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबार देखिएका १०२ जनामध्ये १६ जना सम्पर्क विहिन छन्। उनीहरुमध्ये केहीको फोन उठेन, केहीको उल्लेखित नम्बर नै मिलेको छैन भने कति जनाको मोबाइल नै अफ भएको बताइएको छ ।

५६ जना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको र २० जना संक्रमित होम आइसोलेसनमा बसेको जनाइएको छ । त्यसबाहेक ३६ जना संत्रमितको ट्राभल हिष्ट्री छ भने ३२ जना संक्रमितमा कोरोनाको कुनै न कुनै लक्षण देखिएको छ।

उपत्यकामा संक्रमितको संख्या बढेपछि संक्रमितको व्यवस्थापनमा भने चुनौति थपिएको छ। कोरोना संक्रमितको व्यवस्थापनका खटिएका कर्मचारीलाई अबेर रातीसम्म संक्रमितलाई कुन अस्पतालमा लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ।