एकैदिन हुने संक्रमणको नयाँ रेकर्ड बन्यो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एकैदिन हुने संक्रमणको नयाँ रेकर्ड बन्यो



एजेन्सी- विश्वभर कोरोरोना संक्रमणका अनेक प्रयास अझै सफल हुन सकिरहेका छैनन् । अनेक प्रयास जारी रहे पनि विश्वभर कोरोना भाइरसको संक्रमण दर घट्नुको सट्टा झन तीब्र बन्दै गएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन् । गएको २४ घण्टामा विश्वभर एक लाख ९२ हजार ४२३ जनामा संक्रमण देखिएको वल्र्डओमिटरले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

विश्वभरका अधिकांश देशले लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमण दर तीब्र बन्न थालेको विज्ञहरुले बताएका छन् । आज (शनिबार) विहानसम्ममा विश्वभर ९८ लाख ९६ हजार ७९२ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म कोरोना संक्रमणको कारण विश्वभर चार लाख ९६ हजार २८ जनाको मृत्यु भइसकेको छ । शुक्रबार विश्वभर चार हजार ८४२ जनाले ज्यान गुमाएका छन् ।

शनिबार सबैभन्दा धेरै संक्रमण र मृत्यु ब्राजिलमा भएको छ । ब्राजिलमा एकै दिन ४६ हजार ९०७ जनामा संक्रमण पुष्टि भएको छ भने एक हजार ५५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा गएको २४ घण्टामा ४६ हजार ७०७ जनामा संक्रमण पुष्टि भएको छ भने ६२५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै मेक्सिकोमा ७३६ जनाले ज्यान गुमाएका छन् ।

भारतमा शनिबार एकै दिन १८ हजार २७६ जनामा संक्रमण पुष्टि भएको छ भने ३८१ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा ब्राजिल र अमेरिकापछि धेरै संक्रमित भारतमा थपिएका छन् ।
भारतमा अहिलेसम्म संक्रमितको संख्या पाँच लाख नौ हजार ४४६ पुगेको छ । त्यहाँ अहिलेसम्म संक्रमणबाट १५ हजार ६८९ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी गएको २४ घण्टामा रुसमा १७६, बेलायतमा १८४, पेरुमा १७८, चिलीमा १६५, इरानमा १०९, कोलम्बोमा १५७, इराकमा १२२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।