बुटवलमा एकै परिवारका १२ जनाको मृत्यु ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बुटवलमा एकै परिवारका १२ जनाको मृत्यु !



बुटवल । रूपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर ३ मा दरखसी भन्ने टोल छ । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट १४ किलोमिटर दूरी पार गरेपछि सैनामैना पुगिन्छ । त्यहाँ उपाध्याय परिवारको बसोबास छ ।सैनामैनाको मुर्गियाँचोकबाट दक्षिणतर्फ डेढ किलोमिटर गएपछि दरखसिकी ८४ वर्षीया नन्दकला उपाध्यायको घर छ । उनै नन्दकलाको परिवारमा मिर्गौला रोगले बित्यास नित्याएको हो । सुन्दा अचम्म पनि लाग्न सक्छ । यो परिवारमा हालसम्म १२ जनाको ज्यान मिर्गौला रोगले नै लगिसकेको छ । परिवारमा अझै मिर्गौला रोगी छन् । जो औषधि खाँदै र डाइलासिस गर्दै जीवन निर्वाह गरिरहेका छन् ।

‘अहिलेसम्म १२ जनाको मृत्यु भएको थाहा भए पनि कतिको त थाहा नै नपाई ज्यान गएको पनि हुनसक्छ । अपस्ताल नजिक नहुँदा कतिको ज्यान गयो थाहा छैन’, सोही परिवारका एकजना मिर्गौला रोगबाट पीडित नारायण उपाध्याय सम्झन्छन् ।नारायण आफै पनि मिर्गौला रोगबाट पीडित छन् । उनी हप्ताको दुई दिन डाइलासिस गर्न बुटवलको गौतमबुद्ध अस्पताल धाउँछन् ।

उनका दाइका छोरा बिष्णु उपाध्याय चालिसे पनि यही रोगको औषधि सेवन गरिरहेका छन् ।३२ वर्षीय विष्णु कतारमा काम गर्दागर्दै बिरामी भएपछि परीक्षण गर्दा थाहा भयो मर्गौला ड्यामेज छ भन्ने । उनी अहिले पनि कतारमा औषधिसहित काम गर्दै आएका छन् ।नारायणका दाइ चिन्तामणि उपाध्ययको २०६५ सालमा मिर्गौला रोगबाट मृत्यु भयो ।६६ सालमा खिमानन्द र ७२ सालमा हरिको मृत्यु भइसकेको छ । उनले पनि ६४ सालदेखि मिर्गौला रोगबाट बच्न औषधि खाइरहेका छन् ।

विगत ३ वर्षदेखि डाइलासिस गर्दै आएका नारायणले शनिबार बिहान भेटमा भने, ‘हाम्रो सबै परिवार चिन्तामा छ, एकपछि अर्को मिर्गौला रोगी भेटिएपछि उपचार गर्दागर्दै भएको सम्पत्ति पनि सकियो, काम गर्न पनि सकिँदैन ।’उनीहरू सबै हजुरबुबा अग्निधरका सन्तान हुन् । ‘अग्निधरका ४ छोरा थिए, जसमध्ये २ जनाको मिर्गौला रोगकै कारण ज्यान गइसक्यो’, कुराकानीकै क्रममा नारायणले स्मरण गरे ।

अग्निधरका नातिनातिनासमेत गरेर अहिलेसम्म ९ जनाको मृत्यु भयो । यसमा नारायणकी फुपू दिदीकी छोरी पनि परिन् । ‘यही रोगबाट मैले थाहा पाएका १२ जनाको मृत्यु भयो’, नारायणले भने । उनले पहिले पहिले नजिकै अस्पताल नभएकाले जचाउन नपाउँदा धेरैले ज्यान गुमाउनु परेको सुनाए ।त्यसो त यो रोग अग्निधरका नातिनातिनामा मात्र सीमित रहेन । हाल पनातिमा पनि देखिन थालेको छ । रोजगारीको सिलसिलामा कतारमा रहेका अग्निधरका पनाति विष्णु यसका उदाहरण हुन् । ‘डाक्टरले भनेअनुसार मिर्गौला रोग वंशाणुगत रूपमा फैलिएको हो रे । ६ पुस्तासम्म यो रोग देखापर्छ भन्ने सुनेको छु’, नारायण सम्झन्छन् ।

बर्सेनि जग्गा बेच्दै उपचार

उपाध्याय परिवारको पुख्र्यौली घर गुल्मीको अर्खबाङ्ग हो । नारायण उपाध्याय सानैमा बुबासँग यो ठाउँमा आएका हुन् । यहाँ आउनेवित्तिकै नारायणका बुबाको मिर्गौला रोगबाटै मृत्यु भयो । अनि दाइ । क्रमशः नारायणलाई पनि मिर्गौला रोग देखियो ।

६४ सालदेखि यो रोगबाट पीडित नारायाण रोगको पीडासँगै आर्थिक समस्या पनि भोगिरहेका छन् ।दरखसीबाट उनी बुटवलसम्म डाइलासिस गर्न साताको दुई पटक धाउने गर्छन् । अस्पतालले मङ्गलबार दिउँसो १० देखि ४ बजेसम्म र शुक्रबार १२ देखि ४ बजेसम्म उपाध्यायलाई डाइलासिस गर्न बोलाएको छ ।शनिबार बिहान घरबाहिर दाउरा बालेर खाना पकाउँदै गरेकी नारायणकी श्रीमती (४२) विष्णु देवीले रातोपाटीसँग खर्चको विवरण यसरी सुनाइन् ।

बिरामीलाई एक्लै छाड्न मिल्दैन । गाडीमा पनि चक्कर लाग्नसक्छ । बेलाबेलामा घरमै पनि यो समस्या भोग्नुपरेको छ । घरबाट मुगियाचोकसम्म अटो रिक्सामा जाँदा दुई जनाको ५० रूपैयाँ लाग्छ । मुगियाबाट बुटवलसम्म बसमा ७० रूपैयाँ लिन्छ । बसपार्कबाट फेरि अस्पताल पुग्न अटोमा ५० रूपैयाँ लाग्छ । यसरी अस्पताल पुग्दा १ सय ७० रूपैयाँ लाग्छ ।आउँदा जाँदा एक पटकमा ३ सय ४० रूपैयाँ लाग्छ ।

सातामा ६८० खर्च हुन्छ । अस्पतालमा भने यो सेवाको पैसा तिर्नपर्दैन । सरकारले मिर्गौला रोगीको डाइलासिस निःशुल्क गरेको छ । तर रगत परीक्षण, सुई, औषधि आफैले खर्च गर्नुपर्छ । यो सबै जोड्दा सातामा ५ देखि ७ हजारसम्म र मासिक २० देखि २५ हजार खर्च हुन्छ ।

आम्दानीको स्र्रोत केही छैन । प्रत्येक वर्ष एक एक कट्ठाका दरले जग्गा बेच्दै उपचार गर्नुपरेको छ । हामीसँग ९ कट्टा जग्गा थियो हाल ३ कटठ मात्रै छ । घरमा ८४ वर्षीया आमा र हामी दम्पती मात्रै छौँ ।रोग लागेकाहरूलाई पिसाबमा रगत देखिन्छ । पीडितमध्ये नारायणको अवस्था अत्यन्तै दयनीय देखिन्छ । मिर्गौला सहयोग गर्ने भेटिए पनि प्रत्यारोपण गर्न १५ लाख लाग्ने सुनिन्छ । रातोपाटीबाट