नेपालमा कोरोनाको भयाबह: एकाबिहानै ७ जना संक्रमितको मृत्यु
काठमाडौं- नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह बनेको छ । एकाबिहानै नेपालमा भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।
काठमाडौं, कैलाली, वीरगञ्ज र बाँकेमा गरि सात जना संक्रमितको मृत्यु भएको हो ।
चाबहिलमा एक जना
मृत्यु हुनेमा काठमाडौं चावहिलकी ७१ वर्षीया महिला रहेकी छन् । उनको सोमबार चावहिलको दीर्घायु गुरु अस्पतालमा मृत्यु भएको हो ।
ललितपुरमा एक जना
यस्तै ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
बाराका दुई जना
वीरगञ्जमा मृत्यु भएका तीन जनामध्ये दुई जना बाराका छन् भने पर्साका एक जना रहेका छन् । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मंगलबार बाराको विश्रामपुर गाउँपालिका–५ का ७२ वर्षीय पुरुष र महागढीमाई नगरपालिका–४ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै पर्साका मृत्यु हुनेमा विश्रामपुरका ७२ वर्षीय पुरुष रहेका छन् ।
बाँकेमा एक जना
यस्तै बाँकेमा कोरोना संक्रमणबाट मंगलवार राति एक जना ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको मंगलवार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा मंगलवार संक्रमण पुष्टि भएको थियो ।
उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै मंगलवार राति १:३० बजे उनको मृत्यु भएको श्रेष्ठले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।
कैलालीमा एक जना
यस्तै कैलालीको गोदावरी नगरपालिकाका- ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बुधबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो।
उनको व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकिएको श्रेष्ठले बताए ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ। मंगलबार पनि कैलालीको बर्दगोरीयामा मृत्यु भएको १० दिनपछि एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विराटनगरकी एक महिला
यस्तै विराट मेडिकल कलेजमा भर्ना भएकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
विराटनगर-१५ मिल्सएरिया घर भएकी ४४ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
उनी मंगलबार नै दिउँसो अस्पताल भर्ना भएकी थिइन्। ज्वरो आउने र सास फेर्न गाह्रो भएपछि उनी दिउँसो अस्पतालमा भर्ना भएकी थिइन्।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार कोसी अञ्चल अस्पतालमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। अस्पताल भर्ना भएपछि उनको स्वाब संकलन गरिएको थियो।
मृतकको शव व्यवस्थापनमा नेपाली सेनाले काम गरिरहेको खड्काले बताए।