चतुर प्रचण्ड : पार्टी बैठकमा रहस्यमय भाषण, एक तिर कैयौँ निशाना
काठमाडौँ । शनिबार सुरू भएको माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा विषय गम्भीर रूपले उठाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जुनसुकै बेला पनि अल्पमतमा पर्न सक्ने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालकै कारण सरकार बनेको बताए । त्यो बताइरहँदा प्रचण्डले यो सरकार धेरै नटिक्ने संकेत पनि संगसंगै गरेका थिए ।
प्रचण्डले यसअघि माधव नेपाल कुनैपनि अवस्थामा पछाडी नेफर्कने भन्दै ओलीको साथ् छाडिसकेको बताएका थिए । माओवादीकै बैठकहरूमा माधवले अब एमाले कब्जा गर्ने वा विद्रोह गर्ने निश्चित रहेको बताएका प्रचण्डले शनिबार भने त्यो भन्दा फरक संकेत गरे । पार्टी कमिटी बैठकमा प्रचण्डले गरेको यस्तो संकेतले स्वयं माओवादीकै नेताहरू पनि झस्किए ।
प्रचण्डले बैठकमा भने, ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ । यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ ।’ तर उनको भनाईले दुई अर्थ राख्ने नेताहरूले बताएका छन् । एउटा यसअघि माधव नेपालले विद्रोह गर्दैछन भनेर बोलेका कारण नेता नेपाललाई अफ्ट्यारो परेको थियो । अर्को अब नेता नेपालले आफ्नो अनुकुल भएन भने गठबन्धनमा बस्दैनन् ।
प्रचण्डका अनुसार देउवा नेतृत्वको सरकारले अन्य दलको समर्थन नपाउने सम्भावना छ । सरकार बनाउन नेकपा एमालेको माधव पक्षले सहयोग गरेपनि सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा माधव नेपाल समूहले अझैसम्म निर्णय गरेको छैन ।
तर केहि नेताहरूको बुझाई भने यसमा अल्ली फरक देखिन्छ । कतिपय नेताहरूले प्रचण्डको अभिव्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवामाथि लक्षित भनेका छन् । सरकारलाई पूर्णता दिन नसकेको र गठबन्धनको सहमति भन्दा फरक तरिकाले देउवा चल्न थालेकोले सतर्क गराएको उनीहरूको बुझाई छ ।
एकातिर मन्त्रिपरिषद विस्तार गर्न नसक्नुमा माओवादीको कुनै हात नभएको र देउवाकै कारण यस्तो अवस्था आएको प्रचण्डको निष्कर्ष सुनाएका थिए भने अर्कातिर देउवा सरकार यहि अवस्थाबाट गुज्रिने हो भने धेरै नटिक्ने प्रचण्डले संकेत गरेका थिए । प्रचण्डले पार्टी कमिटीमा दिएको अभिव्यक्तिले राजनीति नै तरंगित बनेको छ । कुटनीतिमा पोख्त प्रचण्डले आफ्नो अभिव्यक्तिले दुई शिकार गर्न खोजेको समेत चर्चा हुन थालेको छ ।
उनले एकातिर देउवालाई ब्यालेन्समा ल्याउर प्रचण्डको हातमा सबै छ भन्ने देखाउने र अर्कातिर सरकार धेरै समय टिक्दैन भनेर आफूलाई मन्त्री बनाउन दवाव दिनेहरूको संख्या घटाउने दाउ खेलेको पनि हुनसक्ने एक नेताले बताए । ति नेताका अनुसार प्रचण्ड एउटा तिरले धेरै शिकार खेल्न खोजेको पनि हुनसक्छ ।
पछिल्लो समय एमसीसी लगायत साझा न्यूनतम कार्यक्रमले गर्दा गठबन्धनमै खटपट आएको चर्चा बाहिरिएको र माधव नेपाल समूह एकता हुनैपर्ने चर्को दवावमा रहेका बेला प्रचण्डको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।