एक पटक सांसद भएकालाई पुनः नदोहोर्याउन वाइसिएलको आग्रह - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

एक पटक सांसद भएकालाई पुनः नदोहोर्याउन वाइसिएलको आग्रह



काठमाडौँ – नेकपा माओवादी केन्द्रको सहयाक सङ्गठन वाइसिएल नेपालले एक पटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पुनः नदोहो¥याउन आग्रह गरेको छ।

वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटकपटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको छ।

बैठकले निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका खेल्ने सबै तहका नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।

वाइसिएलले वाम गठबन्धनलाई एकतामा रूपान्तरण गर्न र नेपाली जनताको चाहनाअनुसार नै तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी केन्द्र र नेकपा एमालेलाई आग्रह गरेको छ।

वाइसिएलले पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी मूल्य र मान्यतालाई आत्मसात् गर्न समेत ध्यानकर्षण गराएको छ। रोल्पाका सहिद परिवार मङ्गले दम्पतीको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकामा धन्यवाद दिँदै वाइसिएलले लत्ता कपडा र घरायसी सामग्रीको व्यवस्था गर्ने निर्णय गरेको छ।

साथै वृद्ध दम्पतीलाई भरणपोषणमा सहयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष सापकोटाले जानकारी दिए। यस्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वामगठबन्धन विरुद्ध लागेका केही नेता तथा कार्यकर्तालाई कारबाही गरिएको वाइसिएलले जनाएको छ। रासस